नेपालमा सवारीसाधनको गुणस्तर र मापदण्डमा ध्यान दिन आईजीपी दान बहादुर कार्कीको सुझाव

286
shares

काठमाडौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपालमा सवारी दुर्घटना बढ्दै गएको भन्दै सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्।

आजदेखि भृकुटीमण्डमा सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ उद्घाटन कार्यक्रममा आईजीपी कार्कीले सडकमा गुड्ने सवारीसाधन सुरक्षित भए मात्रै मानिस पनि सुरक्षित हुने बताए। उनले सवारी साधनको गुणस्तर र मापदण्डमा विशेष ध्यान दिन व्यवसायीलाई सुझाए।

कार्कीले समयको परिवर्तनसँगै नेपालको मोबिलिटी क्षेत्रलाई पनि विकास गर्दै लैजानुपर्नेमा जोड दिए। मोबिलिटी क्षेत्रमा निजी क्षेत्रको सहभागिताले आर्थिक समृद्धिमा समेत योगदान पुर्याउने उनको भनाइ छ। ‘समयको परिवर्तनसँगै मोबिलिटी क्षेत्रको विकास गर्नुपर्छ । निजी क्षेत्रको भूमिकाबाट आर्थिक समृद्धि आउन सक्छ,’ उनले भने।

उनले नेपाल प्रहरी सडक सुरक्षा र ट्राफिक व्यवस्थापनसँग सम्बन्धित संवाद तथा पहलमा सक्रिय रूपमा सहभागी हुने बताए। ईभी विस्तारसँगै त्यससँग सम्बन्धित सुरक्षा तथा व्यवस्थापनका विषयमा पनि नेपाल प्रहरीले काम गरिरहेको उनले जानकारी दिए ।

‘नेपाल प्रहरी यस्तो संवादमा सहभागी हुन र सडक सुरक्षालाई विशेष प्राथमिकता दिनेछ,’ कार्कीले भने। उनले ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ नेपालको यातायात तथा मोबिलिटी क्षेत्रका लागि महत्वपूर्ण कोसेढुंगा बन्ने विश्वास व्यक्त गरे।

एक्स्पोले सुरक्षित, गुणस्तरीय र आधुनिक मोबिलिटीको विकासका विषयमा थप संवाद र सहकार्यको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको उनले बताए।


divya collage
unigloble collage