युवा नेतृत्व असफल भए ‘युवाले सक्दैनन्’ भन्ने भाष्य बन्छ: सभापति लामिछाने

234
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले युवाको नेतृत्वमा रहेको नेपाललाई विश्वसामु उदाहरणीय बनाउने जिम्मेवारी अहिलेको पुस्तामाथि रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले युवाको नेतृत्वमा सरकार र संसद् सञ्चालन भइरहेको अवस्थामा त्यसको प्रभाव काम र परिणामबाट देखिनुपर्ने बताए।

उनले जेनजी आन्दोलनले देशको राजनीतिक परिवेशमा ठूलो परिवर्तन ल्याएको उल्लेख गर्दै अब आन्दोलनबाट सिर्जित नयाँ परिस्थितिलाई उपलब्धिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए। उनका अनुसार आन्दोलनले पुरानो संरचना भत्काएको विषयमा मात्रै चर्चा गर्नु पर्याप्त छैन, त्यसबाट कस्तो नयाँ व्यवस्था र परिणाम निर्माण हुन्छ भन्ने महत्वपूर्ण विषय हो।

लामिछानेले आन्दोलनका क्रममा सकारात्मक वा नकारात्मक भूमिका निर्वाह गर्नेहरूको समीक्षा गर्ने समय अहिले नभएको बताए। अहिलेको आवश्यकता जनअपेक्षाअनुसार काम गरेर परिवर्तनको औचित्य पुष्टि गर्नु रहेको उनको भनाइ थियो।

रास्वपालाई पनि परिणाममुखी राजनीतिक शक्तिका रूपमा स्थापित गर्नु चुनौतीपूर्ण रहेको उनले बताए। युवाले नेतृत्व गरेको देश संसारमै उत्कृष्ट बन्न सक्छ भन्ने उदाहरण नेपालबाटै प्रस्तुत गर्नुपर्ने भन्दै उनले त्यसको जिम्मेवारी आफ्नो पार्टीसहित अहिलेको युवा नेतृत्वमाथि रहेको बताए।

युवा नेतृत्व असफल भए त्यसको असर एउटा दलमा मात्रै सीमित नहुने लामिछानेको चेतावनी थियो। युवाले नेतृत्व गर्न सक्दैनन्, उनीहरू अनुभवहीन हुन्छन् भन्ने धारणा बलियो बन्न सक्ने भएकाले अहिलेको पुस्ताले आफ्नो क्षमता व्यवहारमै प्रमाणित गर्नुपर्ने उनले बताए।

उनले युवाको नेतृत्वदक्षता भाषण र दाबीबाट नभई इमानदार काम तथा त्यसबाट प्राप्त परिणामबाट स्थापित हुने बताए। अहिलेको पुस्ताले अवसरसँगै इतिहासको जिम्मेवारीसमेत पाएको भन्दै लामिछानेले युवाले देश सञ्चालन गर्न सक्छन् भन्ने विश्वासलाई परिणाममार्फत प्रमाणित गर्नुपर्ने धारणा राखे।


divya collage
unigloble collage