लागूऔषधविरुद्ध सचेतना जगाउँदै ‘एलिट फाइटर्स नकआउट फुटबल प्रतियोगिता’ सुरु
वि.सं.२०८३ भदौ ७ आइतवार २२:२५
shares

विराटनगर । ‘लागूऔषधविरुद्ध सबै एकजुट बनौँ’ भन्ने मूल नाराका साथ TWYC मोरङ, विराटनगरको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, मोरङको समन्वयमा आयोजित “ELITE FIGHTERS KNOCKOUT FOOTBALL TOURNAMENT 2083” को पहिलो उद्घाटन खेल सम्पन्न भएको छ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन खेलमा जीवनदृष्टि सामुदायिक पुनर्स्थापना केन्द्र र रिचमण्ड फिलोसिप नेपालबीच प्रतिस्पर्धा भएको थियो।
निर्धारित समयमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा रिचमण्ड फिलोसिप नेपालले ५–३ गोल अन्तरले विजयी हुँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच घोषित रिचमण्ड फिलोसिप नेपालका जर्सी नम्बर ३ का सुशान्त घिमिरेलाई जिल्ला प्रहरी कार्यालय, मोरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले पुरस्कार प्रदान गर्नुभएको थियो।
लागूऔषध दुव्र्यसनविरुद्ध युवाहरूलाई सचेत बनाउने, खेलकुदमार्फत सकारात्मक सोच र स्वस्थ जीवनशैलीको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले खेलकुदसँगै सामाजिक सचेतना अभिवृद्धिमा समेत महत्वपूर्ण योगदान पुर्याउने आयोजकले जनाएको छ।



















