माघेसङ्क्रान्ति मेला शुभारम्भ

7.12K
shares

चितवन । तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्न्यास आश्रमका पीठाधीश ज्ञानानन्द सरस्वती, महेश सन्न्यास आश्रमका पीठाधीश रमाणानान्द गिरी, अभय वेदान्त साधना कुटिरका स्वामी कृष्णानन्द सरस्वती, गलेश्वर आश्रमका उपाध्यक्ष अद्वैतानन्द गिरी, सन्तमहन्त, वटुकलगायत विशिष्ट व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याइएको हो । यसअघि गलेश्वर आश्रममा भेला भएर विधिवत् रुपमा लिङ्गोसहित यात्रा बेनीमा पुगेको थियो ।

यससँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला शुरु भएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार मेलालाई व्यवस्थित बनाइएको छ । विभिन्न उपसमितिमार्फत मेला व्यवस्थापन गरिएको जानकारी उनले दिए । देवघाट आउने सवारी साधनलाई ठिमुरा, रामनगर र दासढुङ्गाबाट आउने व्यवस्था मिलाइएको छ भने फर्कँदा तिनले आँपटारीको बाटो प्रयोग गर्नेछन् । दासढुङ्गामा देवघाट जोड्ने पुल सम्पन्न भएकाले देवघाटसम्म नै सवारी साधन पु-याउन सकिने छ । अध्यक्ष पौडेलले भक्तजनले सो पुल प्रयोग गरेमा हाल प्रयोग हुँदै आएको बाटोको सवारी चाप घट्ने बताए ।

सङ्क्रान्तिको अघिल्लो रात आज धाममा भक्तजन दीप प्रज्वलन गरी भजनकीर्तनमा सरिक हुनेछन् । आजदेखि नै भक्तजन आउने क्रम शुरु भएको छ । ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघेसङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । सो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083