बझाङमा कमिसन लिएर नियमविपरीत ठेक्का

16.71K
shares

बझाङ सुर्मा गाउँपालिकामा खानेपानी निमार्णका दुई योजनाको ठेक्का खरीद ऐन विपरीत गरिएको छ । गाउँपालिका कर्मचारीले कमिसन खाएर नियम विपरीत ठेक्का वितरण गरेको देखिएको छ।

गाउँपालिकाले गत पुष २१ गते विछाडा खानेपानी योजना र छेडा–घोगाड–पटेउरी खानेपानी योजना गरी दुई शीर्षकमा ठेक्का आह्वान गरेको थियो।

सार्वजनिक खरिद ऐन अनुसार प्रतिस्पर्धा गराई न्यूनतम मूल्यमा काम गर्ने निमार्ण कम्पनीलाई ठेक्का दिनुपर्ने भएपनि खरिद ऐनलाई छलेर जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा ठेक्का वितरण गरिएको छ।

गाउँपालिकाले निमार्ण गर्न लागेको विछाडा खानेपानी योजनाको लागत ४९ लाख ९३ हजार ५ सय ६८ रुपैयाँ थियो । उक्त ठेक्कामा न्यु अनमोल निमार्ण सेवा र अनमोल निमार्ण सेवा गरी दुई निमार्ण कम्पनीले ठेक्का हालेका थिए।

न्यू अनमोल निमार्ण सेवाले ४९ लाख ९० हजार बराबर र अनमोल निमार्ण सेवाले ४२ लाख ४५ हजार बराबरमा टेन्डर हालेका थियो । नियम अनुसार अनमोल निमार्ण सेवाले ठेक्का पाउनुपर्ने भएपनि कर्मचारीहरु आर्थिक प्रलोभनमा परेर न्यू अनमोल निमार्ण सेवालाई ठेक्का दिएइएको छ।

यस्तै ५९ लाख ९९ हजार ४ सय ४९ रुपैयाँ लागतमा निमार्ण हुने छेडा–घोगाड–पटेउरी खानेपानी निमार्ण आयोजनामा तीन निमार्ण कम्पनीले ठेक्का हालेका थिए । जयलक्ष्मी निमार्ण सेवाले ५९ लाख ९७ हजार, किनारा निमार्ण सेवा ५७ लाख र अनमोल निमार्ण सेवाले ५० लाख ९५ हजारमा टेन्डर हालेका थिए।

नियम अनुसार सबैभन्दा कममा काम गर्ने अनमोल निमार्ण सेवाले ठेक्का पाउनु पर्ने भएपनि झण्डै ७ लाख बढीमा टेन्डर हालेको किनारा निमार्ण सेवालाई दिएको छ।

दुवै ठेक्काबाट झण्डै १४ लाख कमिसन खाएर गाउँपालिका कर्मचारीले न्यू अनमोल निमार्ण सेवा र किनारा निमार्ण सेवालाई ठेक्का वितरण गरेको आरोप छ।

दुवै ठेक्कामा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीराज जोशी र लेखापाल राजेन्द्र खत्रीले आर्थिक प्रलोभनमा परी नियम विपरीत अर्कै मान्छेलाई ठेक्का दिएको अनमोल निमार्ण सेवाका सञ्चालक हेमन्त भण्डारीको आरोप छ।

यस प्रकरणबारे प्रशासन तथा सार्वजनिक खरीद अनुगमन कार्यालयमा उजुरी दर्ता गर्ने भण्डारीले जानकारी दिए।

प्रमुख प्रशासकीय अधिकृत जोशीले भने आर्थिक प्रलोभनमा नपरेको बताएका छन् । उनले नियम संगत नभएकोले अर्कै मान्छेलाई ठेक्का दिइएको दावी गरे । उनले भने ‘अनमोल निमार्ण सेवाको बैंक ग्यारेन्टीमा छाप छुटेको थियो त्यही कारणले अर्कै मान्छेलाई ठेक्का दिएका हौँ।’

राष्ट्रिय वाणिज्य बैंक बझाङ शाखाले बनाएको बैंक ग्यारेन्टीमा छाप छुटेको समस्या कर्मचारीहरुले देखाएका छन् । राष्ट्रिय वाणिज्य बैंकले भने आफ्नो गल्ती भएको र सुधारका लागि तोकिएकै समयमा गाउँपालिकालाई पत्र लेखी पठाएको जनाएको छ।

यस्तै निमार्ण व्यवसायी संघ बझाङका उपाध्यक्ष दिपक रोकायाले कर्मचारीहरुले नियम विपरीत नै ठेक्का वितरण गरेको बताए । उनले भने ‘बैंकले गल्ती स्वीकार गर्दै पालिकालाई पत्र पठाई सकेपछि पनि ठेक्का कम मूल्यमा हाल्नेलाई दिनुपर्ने हो, तर कर्मचारीहरुले अर्कै मान्छेलाई दिनु गलत हो।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083