‘मुख्यसचिव नियुक्ति ठिक ढङ्गले भएन’ : सुवास नेम्वाङ

7.01K
shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले मुख्यसचिव नियुक्तिमा गलत काम गरेको टिप्पणी गरेका छन् ।

शनिबार पार्टीका मधेश प्रदेशसभा सदस्यहरुलाई प्रशिक्षण दिन जनकपुरधाम पुगेका उनले तीन दिनपछि अवकाश हुन लागेका व्यक्तिलाई मुख्यसचिव नियुक्त गर्नु गलत भएको बताए ।

‘भोलि आइतबार सचिवको म्याद सकिन्छ भन्ने व्यक्ति ३ दिन अघि मुख्यसचिव हुनु भयो । मुख्यसचिवको पद खाली थिएन । मुख्यसचिवमा काम गरिरहेका व्यक्ति उहाँको अझै तीन महिना म्याद थियो । तर अचानक उहाँलाई राजीनामा गराइयो । अनि उहाँलाई सुरक्षा परिषदमा लगेर नियुक्ति गरियो’ उनले भने ।

सरकारले गत बिहीबार मुख्यसचिव शंकरदास बैंरागीलाई राष्ट्रिय सुरक्षा परिषदको सल्लाहकार नियुक्त गर्दै बैकुण्ठ अर्याललाई मुख्य सचिव नियुक्त गरेको थियो ।

अर्याल आइतबारदेखि अवकाशमा जाँदै थिए, तर आगामी असोजसम्म अवधि रहेका मुख्यसचिव वैरागीलाई राष्ट्रिय सुरक्षा परिषदमा सल्लाहकार बनाएर मुख्यसचिव पद खाली गराइएको थियो । नेम्वाङले सत्ता गठबन्धनले राज्य सञ्चालनका क्रममा जथाभावी गरेको टिप्पणी गरे ।

उनले भने, ‘मुख्यसचिवमा यो ढंगले नियुक्ति गर्नुपर्छ भनेर सरकारले यो सबै खेलो फड्को गरेर मुख्यसचिवमा नयाँ नियुक्ति गर्‍यो । हामी अब सुन्दैछौँ, अहिले भर्खरै रिटायर हुनु भएका मित्रलाई बाहिर कतै विदेशमा दुई तीन महिनापछि पठाउने भन्ने सुन्दैछौँ । उहाँ सक्षम व्यक्ति हुनुहुन्छ, मेरा विद्यार्थी हुनुहुन्छ कानुनका तर देश यो ढंगले चल्छ कि चल्दैन?’

उपाध्यक्ष नेम्वाङले भौतिक पूर्वाधार मन्त्रालयको धेरैजसो बजेट सत्ता गठबन्धनको शीर्ष नेताको जिल्लामा लगिएको भन्दै आपत्ति जनाए । ‘यो बजेट देशका लागि हो रु यसरी देशका लागि बजेट बनाइन्छ रु संघीय संसदमा सत्तापक्षकै सांसदहरुले बोलेको सुन्दा सत्तापक्ष कि प्रतिपक्ष हो थाहा हुँदैन । भेदभावबिरुद्धको आगो त्यहाँ छ । यो बजेट पास गर्न दिइँदैन’ उनले भने ।

उपाध्यक्ष नेम्वाङले नागरिकता पाउनुपर्ने वास्तविक व्यक्तिहरुले नागरिकता पाउन ढिलाइ गर्नु नहुने पनि बताए । उनले नागरिकताको विषय टुंगोमा पुर्याउने नाममा संविधान र नियम भन्दा पर जान नहुने धारणा राखेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083