ह्योल्मो समाज सेवा केन्द्र द्वारा IBC को सभापति डा.लामालाई भव्य सम्मान
वि.सं.२०८० मंसिर १६ शनिवार १८:३८
shares

काठमाडौ । ह्योल्मो समाज सेवा केन्द्रले संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामालाई विशेष बधाई तथा सम्मान गरिएको छ।
विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था International Buddhist Confederation (IBC) को शक्तिशाली अधिकार प्राप्त कार्यकारी स्थायी समितिमा निर्वाचित हुदै सभापति बन्नु भएको अवसरमा उपाध्यक्ष लामालाई बधाई एवं सम्मान गरिएको हो ।
बौद्धको ह्योल्मो गुम्बामा आयोजित सम्मान एवं बधाई कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, संविधानसभा सदस्य शेरबहादुर तामाङ, निमा लामा लगायत विशिष्ट व्यक्तिहरु, हजारौं भिक्षु, लामा एवं स्थानीय ह्योल्मो समुदायको उपस्तिथि रहेको थियो।
कार्यक्रममा बधाई शुभकामना व्यक्त गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उपाध्यक्ष डा. लामालाई डल्फीनको संज्ञा दिएका छन् । डल्फीनलाई सानो भाँडोमा राखेर टाउको डुबाए शारीरि भिज्दैन, शरीर डुबाए टाउको भिज्दैन भने जस्तै उपाध्यक्ष लामाक क्षमता हेर्दा सानो भाडामा नभएर समुन्द्रमा राख्न पर्ने बताएका हुन् ।
उपाध्यक्ष लामाको प्रसंसा गर्दै मन्त्री किरातीले आफू पुल बन्ने र पिलर बनेर सहयोग गर्न आग्रह समेत गरेका हुन् ।
एसियाकै पवित्र भुमी रहेको ह्योल्मो वास्तवमा संसार चिनाउने, सेतो हिमालमा रक्तिम कीर्तिमान राख्ने, चिसोगाउमा न्यानो कथा बोक्ने ठाउँ भएको भन्दै हिमाली पर्यटनको क्षेत्रको रुपमा विकास, संरक्षण सम्बर्द्धन गर्न आफू तयार रहेको समेत बताए।
त्यस्तै बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले उपाध्यक्ष लामाबाट उर्जा र हौसला मिल्ने गरेको कुरा स्मरण गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।
कार्यक्रममा पुर्वमन्त्री समेत रहेका शेरबहादुर तामाङ, निमा लामा लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपाध्यक्ष डा. लामालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ह्योल्मो समाजको तर्फबाट International Buddhist Confederation (IBC) को शक्तिशाली अधिकार प्राप्त कार्यकारी स्थायी समितिमा निर्वाचित हुदै सभापति बन्नु भएकोमा हार्दिक बधाई लेखिएको सम्मान एवं बधाई पत्र हस्तान्तरण गरिएको हो।
उपाध्यक्ष डा.लामा विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था IBCको स्थापनाकाल सन् २०११ साल देखि सन् २०१६ सम्म स्थायी समिति सदस्यमा निर्वाचित भएर काम गर्दै आएका थिए। सन् २०१७ को दोस्रो महादिवेशन बाट अधिकार प्राप्त कार्यकारी सदस्यमा पुनः निर्वाचित भएर सचीवमा निर्वाचित भएका उपाध्यक्ष डा.लामा IBC को स्थायी समितिमा हुदै कार्यकारी समितिमा निर्वाचित हुदै सन् २०२३ मा सभापति पदमा निर्वाचित भएका हुन् ।
भारत सरकारको मातहतमा रहेको IBC ले सय करोड भन्दा धेरै बुद्धिष्टहरुलाई एकता गर्दै विश्वभर शान्ति स्थापनको निम्ति विभिन्न कार्यक्रमहरु अगाडि बढाउदै आएको छ। बुद्धिष्ट संग सम्बन्धित रहेका पुरात्वातिक क्षेत्रहरुको खोज तथा अनुसन्धान गर्दै सम्बन्धित क्षेत्रहरुको संरक्षण र सम्बर्द्धन गर्दै आएको छ।
बुद्धदर्शनको विकास साथ-साथै संसार भर छरिएररहेका बुद्धधर्म अवलम्बीहरुमा विकृति विसंगति र धर्म परिवर्तन गर्ने जस्तो अस्वभाविक अवस्था आउन नदिन यस संस्थाले विशेष भुमिका खेल्ने छ। युगौ देखि विभिन्न खाले उत्पीडन र अत्याचार समेत व्यहोर्दै आएको बुद्धिष्टहरुलाई न्याय दिलाउन सबै प्रकारको उत्पीडन अन्त्यको लक्ष्य समेत IBCले राखेको छ।
हाल भारतको नयाँ दिल्लीमा रहेको बुद्धिष्टहरुको छाता सगठन जसले विश्वभरका बौद्धमार्गीहरुको साझा मञ्चको रूपमा काम गर्दै आइरहेको छ भने IBCको हाल ३९ देशहरूमा ३२० भन्दा बढी सगठनहरु रहेको छ।




















