पोखरामा मापसे गरेर चलाएको प्रहरी भ्यान दुर्घटना : घटना लुकाउन प्रहरीकै चलखेल !
कास्की। कास्कीको पोखरामा प्रहरीले नै मादक पदार्थ सेवन गरेर चलाएको गाडी दुर्घटनामा परेको छ । सोमबार बिहान सवा २ बजे पोखरा महानगरपालिका– ६ शान्तिपाटन चोकको चौबाटोमा वडा प्रहरी कार्यालय बैदामको ग।१झ ५५१ नम्बरको भ्यान दुर्घटनामा परेको हो ।
भ्यान प्रहरी जवान सन्तोष शर्माले चलाएका थिए । भ्यानमा शर्मासँगै सुरज धिमाली र अर्का दुई प्रहरी थिए । स्थानीयका अनुसार भ्यानमा रहेका चारैजनाले प्रहरी ड्रेस लगाएका भने थिएनन् ।
दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि चोकको चौतारो भने भत्किएको छ । मापसे गरेर सवारी दुर्घटना गराउनेलाई स्थानीयले कारबाही माग गरे पनि प्रहरीले भने घटना गुपचुप राख्न निकै प्रयत्न गरेको थियो ।
प्रत्यक्षदर्शीका अनुसार प्रहरी भ्यान दुर्घटना भएपछि स्थानीय के भयो भन्दै जम्मा हुन थालेका थिए । स्थानीयको भिड लाग्दा प्रहरी भ्यानमा रहेका चारजना नजिकै सडकमा पार्किङ गरिएको गाडीमा आडेस लगाएर बसेका थिए ।
उनीहरूले मादक पदार्थ सेवन गरेको गन्धले स्पष्ट पारेको ती प्रत्यक्षदर्शी बताउँछन् । उनका अनुसार केही छिनपछि अर्को प्रहरी भ्यान आएर चारैजनालाई हालेर लगेको थियो ।
दुर्घटनामा परेको भ्यान भने पछि प्रहरीले क्रेनको सहायताले उचालेर अन्यत्रै लगेका थिए । स्थानीयले मापसे गरी सवारी दुर्घटना गराउनेलाई कारबाही नगरेसम्म भ्यान लैजान नदिने भन्ने अडान लिएका थिए । तर, प्रहरी भ्यानमा आएका सुरक्षाकर्मीले जबर्जस्ती गाडी उठाएर लगेका हुन् ।
प्रहरीले मंगलबार बिहान भएको दुर्घटनालाई गुपचुप राख्ने प्रयत्न गरेको छ । वडा प्रहरी कार्यालय बैदाममा प्रमुखका रूपमा सरुवा भएर सोमबार मात्र कार्यभार सम्हाल्न आएका प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले आफू आउनु भन्दा अघिको घटना रहेको भन्दै पन्छिए ।
यता घटनाको छानबिन गर्न जिल्ला प्रहरी कार्यालयले समिति बनाएको पाइएको छ । समितिले प्रतिवेदन दिएपछि मात्र सार्वजनिक गरिने जिप्रका कास्कीले बताएको छ ।
१६ साउन २०८१, बुधवार १३:५१ बजे प्रकाशित