माधव सापकोटा ‘सुबोध’को ३३ महिनाको संसदीय उपलब्धि

सिन्धुपाल्चोक–१ का जनप्रतिनिधि माधव सापकोटा ‘सुबोध’ ले के- के गरे आफ्नो कार्यकालमा ?

4.17K
shares

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’ ले करिब ३३ महिनाको संसदीय कार्यकाल पूरा गरेका छन् । यस अवधिमा उनले संसदभित्र र बाहिर दुवै ठाउँबाट जिल्लाका समस्या उठाउने, नीति निर्माणमा हस्तक्षेप गर्ने र विकास निर्माणका विषयमा आवाज बुलन्द गर्ने भूमिका निर्वाह गरेका छन् ।

३३ महिनाको अवधिमा सापकोटाले प्रतिनिधिसभामा पटक–पटक सिन्धुपाल्चोकका भूकम्पपछिको पुनर्निर्माण, सडक सञ्जाल, खानेपानी, शिक्षा र स्वास्थ्य सेवा सम्बन्धी विषय उठाएका छन् । विशेषगरी भूकम्प प्रभावित बस्तीहरूको पुनर्स्थापना ढिलाइ भइरहेको विषयमा उनले सरकारको ध्यानाकर्षण गराउँदै सदनमा प्रश्न र सुझाव राख्दै आएका थिए ।

उनले संसदमा विकास बजेटको न्यायोचित वितरण, दुर्गम क्षेत्रलाई प्राथमिकता र पीडितमुखी कार्यक्रम लागू गर्नुपर्ने माग निरन्तर राख्दै आएका छन् ।

सिन्धुपाल्चोकको जीवनरेखा मानिने अरनिको राजमार्गको स्तरोन्नति र सुधार सापकोटाको प्राथमिक एजेन्डामध्ये एक रहँदै आएको छ । बारम्बार पहिरो, सडक भासिने समस्या र जीर्ण अवस्थाका कारण अवरुद्ध हुने यो राजमार्गको दीर्घकालीन समाधानका लागि उनले संसदमा र सम्बन्धित मन्त्रालयमा निरन्तर दबाब दिएका थिए ।
उनकै पहलमा अरनिको राजमार्ग सुधार आयोजना लाई प्राथमिकतामा राखेर बजेट विनियोजन र काम अगाडि बढाउन सरकार बाध्य भएको बताइन्छ । यसले काठमाडौं–तातोपानी–कोदारी सडक खण्डको आवागमनलाई थप सहज र सुरक्षित बनाउने अपेक्षा गरिएको छ ।

भूकम्प र कोभिड महामारीपछि लामो समय प्रभावित बनेको तातोपानी नाका (नेपाल–चीन सीमा) पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउन पनि सापकोटाले राजनीतिक र कूटनीतिक तहमा निरन्तर पहल गरेका थिए ।

उनले संसदमा पटक–पटक तातोपानी नाका खोल्नुपर्ने विषय उठाउनुका साथै सरकारलाई छिमेकी चीनसँग समन्वय बढाउन दबाब दिएका थिए । नाका सञ्चालनमा आएपछि सिन्धुपाल्चोक मात्र नभई मुलुककै व्यापार, पर्यटन र अर्थतन्त्र लाई सकारात्मक असर पर्ने उनको तर्क रहँदै आएको थियो ।
सापकोटा नेकपाकोे प्रभावशाली युवा नेता भएकाले संसदमा पार्टीको तर्फबाट नीति तथा समसामयिक राजनीतिक मुद्दामा धारणा राख्ने प्रमुख वक्ता का रूपमा पनि देखिँदै आएका छन् । संविधान कार्यान्वयन, संघीयताको सुदृढीकरण र सुशासनका विषयमा उनले सरकारलाई खबरदारी गर्ने भूमिकामा आफूलाई प्रस्तुत गरेका छन् ।

सिन्धुपाल्चोकमा विकास प्रयास
सांसदका रूपमा उनले सिन्धुपाल्चोकमास्
भूकम्प र बाढी–पहिरो प्रभावित बस्तीको पुनर्वासका लागि पहल
अरनिको राजमार्गसहित मुख्य तथा सहायक सडक स्तरोन्नतिका लागि बजेट व्यवस्थापन
स्वास्थ्य चौकी र विद्यालयको भवन निर्माण तथा स्तरोन्नतिमा समन्वय
तातोपानी नाका र सीमा क्षेत्रको आर्थिक गतिविधि चलायमान बनाउन पहल
गर्दै आएको उनका सहयोगीहरू बताउँछन् ।

संसद विघटन र राजनीतिक उतारचढावका बीच पनि सापकोटा जिल्लामा नियमित जनसम्पर्क, पार्टी संगठन विस्तार र कार्यकर्ता भेटघाटमा सक्रिय रहँदै आएका थिए । महामारी, बाढी र विपद्का बेला प्रभावित क्षेत्रमा पुगेर राहत तथा उद्धारका विषयमा सरकारको ध्यानाकर्षण गराउने काममा पनि उनी देखिएका थिए ।

आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सापकोटाले आफ्नो ३३ महिनाको कार्यकाललाई जनताका बीचमा लिएर जाने तयारी गरिरहेका छन् । उनले “अरनिको राजमार्ग, तातोपानी नाका, पुनर्निर्माण र पूर्वाधार विकासमा गरेको पहल नै आफ्नो पूँजी” भएको बताउँदै आएका छन् ।