हलेसी दर्शन गरेर फर्कने क्रममा सुमो दुर्घटना

भुटानी नागरिकसहित तीन जना घाइते

2.24K
shares

विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीको दर्शन गरेर काठमाडौं फर्कने क्रममा सुमो दुर्घटना हुँदा भुटानी नागरिकसहित तीन जना घाइते भएका छन्।

आज खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित लाकुरीभञ्ज्याङमा मध्यपहाडी लोकमार्गअन्तर्गत चलिरहेको ना १ ज ८७८१ नम्बरको सुमो अनियन्त्रित भई सडकको भित्तातर्फ पल्टिँदा दुर्घटना भएको हो।

दुर्घटनामा भुटानको थिम्बु निवासी ७२ वर्षीय कार्दुङ, डोटीको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँका ३५ वर्षीय लोकराज जोशी र गोरखाको चुमनुब्री गाउँपालिका–८ का ५८ वर्षीय लोप्साङ लामा घाइते भएका जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

घाइते तीनै जनालाई उपचारका लागि उदयपुरस्थित जनसेवा क्लिनिक घुर्मीमा पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए।

प्रहरीका अनुसार उक्त सुमो केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबाट हलेसी हुँदै काठमाडौंतर्फ जाँदै गरेको थियो। सुमोमा चालकसहित सात जना यात्रु सवार थिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083