पत्रकारिताबाट राजनीतिमा उदाएकी २९ वर्षीया निशा डाँगी दोस्रोपटक सांसद
वि.सं.२०८२ फागुन २४ आइतवार १०:१६
shares

झापा । मुलुकको राजनीति र प्रणालीमा बढ्दो बेथिति तथा भ्रष्टाचारप्रति असन्तुष्टि व्यक्त गर्दै लोकसेवाको तयारी गरिरहेकी निशा डाँगी चार वर्षअघि राजनीतितर्फ आकर्षित भइन्। व्यक्तिगत जीवन सुधार्न सरकारी जागिर खोज्ने सोच त्यागेर जनताको सेवक बन्ने उद्देश्यका साथ उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भइन्।
निराशालाई आशामा बदल्ने अठोटसहित राजनीतिमा सक्रिय बनेकी २९ वर्षीया डाँगी झापा निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाको उम्मेदवारका रूपमा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ४५ हजार ६८० मत प्राप्त गर्दै निर्वाचित भएकी छन्।
यो उनको प्रतिनिधिसभामा दोस्रो यात्रा हो। २०७९ सालको निर्वाचनमा २५ वर्षको उमेरमै समानुपातिकतर्फ निर्वाचित हुँदै उनी मुलुककै कान्छी सांसद बनेकी थिइन्। समानुपातिक सांसदका रूपमा संसद्मा रहँदा उनले युवाका मुद्दा र समस्यालाई सदनमा निरन्तर उठाउँदै आएकी थिइन्।
सक्रियता र क्षमताका कारण जनताको विश्वास जितेकी डाँगी यसपटक प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुँदै आफ्नो राजनीतिक उपस्थितिलाई थप मजबुत बनाउन सफल भएकी छन्। भद्रपुर नगरपालिका–२ की स्थायी बासिन्दा उनी हाल रास्वपाको केन्द्रीय सदस्यसमेत हुन्।
अघिल्लो प्रतिनिधिसभामा उनले पार्टीको सचेतकको जिम्मेवारी पनि सम्हालेकी थिइन्। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको शिक्षा हासिल गरेकी डाँगी भीमबहादुर र देवीमाया डाँगीकी छोरी हुन्। उनको जन्म २०५३ मंसिर १६ गते झापाको भद्रपुरमा भएको हो।
पूर्णकालीन राजनीतिमा प्रवेश गर्नुअघि उनी करिब पाँच वर्ष पत्रकारिता क्षेत्रमा सक्रिय थिइन्। पत्रकारिताले समाज, नागरिकका समस्या र राजनीतिको भित्री पाटो बुझ्न मद्दत गरेको उनी बताउँछिन्।
“पत्रकारिताले मलाई समाज र नागरिकका वास्तविक समस्या बुझ्न सहयोग गर्यो,” डाँगी भन्छिन्।
निर्वाचन अभियानका क्रममा जनताको घरदैलोमा पुग्दा झापा–१ का स्थानीय समस्या, जनचाहना र विकासका प्राथमिकता बुझ्ने अवसर पाएको उनले बताएकी छन्। भ्रष्टाचार, नातावाद र ढिलासुस्ती अन्त्य गर्दै सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले जनताले आफूहरूलाई इमानदार नेतृत्वका लागि मत दिएको बताइन्।
“हामीलाई प्राप्त मतादेश इमानदारिता र सुशासनका लागि हो,” डाँगी भन्छिन्, “मप्रति व्यक्त भएको जनविश्वासलाई खेर जान दिने छैन, देश र जनताको हितमा काम गर्नेछु।”
युवा जोश, शैक्षिक क्षमता र संसदीय अनुभवको संयोजन भएकी डाँगीबाट झापा–१ का मतदातामात्र होइन, परिवर्तनको अपेक्षा राख्ने देशभरका युवाले पनि ठूलो अपेक्षा गरेका छन्।
















