कविता : गुनकेशरी

2.51K
shares

प्रकाशचन्द्र खतिवडा
उठेर ज्वारभाटाहरु
समुन्द्र शान्त बनेको छ
विष्फोट भएर ज्वालामुखी
पहाड क्लान्त बनेको छ
बौरेर लाशहरु
चिता जुरुक्क उठेको छ
अनपेक्षित छन रातहरु
जून रोइ बसेको छ
घाम मरेको छ सम्साँझै
रातले घाम निलेको छ
ताराहरु विलीन छन
आकाश गंगा हराएको छ
शाक्तिशाली भूकम्प पछि
धरती छिया छिया भएको छ ।

दुधमुखी शिशु रोइ रहेछ
आमाको न्यानो काख खोजेर
आमा सडक चाहार्छिन
गरिबीको सीमा छैन
एक छाक खोले फाँडो खान पनि
समयले साथ दिएको छैन
रक्त अल्पताले शिथिल गुनकेशरी
सुकेनाशले ग्रसित नानी च्यापेर
झाँक्री कहाँ धाउँछिन
झाँक्री बोक्सी देखाउँछ
गुनकेशरी, झाँक्रीको कुरा पत्याउन विवश छिन ।

सावाँ अक्षर छिचोल्न नपाउँदै
पाठशालबाट निकालिएर
घरको दुःख टार्न
बाबु संगै ढाकर बोकी
गुनकेशरी अक्करका अप्ठेरा सिढिं चढेर
अमिला पसिना पुछी
तोक्मा र खकनको सहारामा
साहुको नुन ओसार्छिन
साहु ज्याला ठग्छ
गुनकेशरीको पसिना लुटी ।

पन्ध्र वर्षमै विवाह गरिएकी
सोह्र वर्ष पुग नपुग
गुनकेशरी दोजिया हुन्छिन
आमा बन्नुको अर्थै नबुझी
शिशुलाई जन्म दिएर
उनी बेहोश हुन्छिन ।

पति तोयानाथ
शिशुलाई काखमा च्यापी
गुनकेशरीको शिर सुम्सुम्याउँछ
गुनकेशरी आँखा खोल्छिन
तोयानाथ र गुनकेशरी
अंकमाल गरेर डाँको छोड्छन
हे दैव !
हाम्रो के दोष छ र ?
हामीलाई सजायाँ दिन्छौ
हामी निर्धन छौ भन्दैमा
हामीले हेपिनु पर्छ र ?

लेखक : कवि प्रकाशचन्द्र खतविडा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर–६ दुलारी, मोरङका हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083