ललितपुर प्रहरी परिसरभित्रै ‘विद्रोह’ : डिएसपी द्वारिका घिमिरेको दादागिरीले सीमा नाघेपछि हवल्दारले लिए एक्सन !
वि.सं.२०८३ वैशाख १२ शनिवार १०:०६
shares

ललितपुर । नेपाल प्रहरीको अनुशासन र ‘चेन अफ कमाण्ड’ को धज्जी उडाउँदै जिल्ला प्रहरी परिसर ललितपुरभित्रै एक अप्रिय घटना घटेको छ। आफ्ना मातहतका कर्मचारीमाथि निरन्तर अपमानजनक व्यवहार र “दादागिरी” शैली प्रदर्शन गर्दै आएका प्रहरी नायब उपरीक्षक (डिएसपी) द्वारिका घिमिरे पुनः एकपटक विवादको भुमरीमा फसेका छन्।
के भएको थियो घटना?
मंगलबजार प्रहरी वृत्तबाट रमाना लिएर केही ढिलो परिसर पुगेका एक तामाङ थरका वरिष्ठ हवल्दारमाथि डिएसपी घिमिरेले अमानवीय शैलीमा गालीगलौज र अपमानजनक शब्द प्रहार गरेपछि स्थिति नियन्त्रण बाहिर गएको हो। स्रोतका अनुसार, घिमिरेको अपशब्द र तुच्छ व्यवहार सहन नसकेर आक्रोशित हवल्दारले कार्यालयभित्रै डिएसपीमाथि हातपातको प्रयास गरेका छन्।
“समयमा अरू प्रहरीले हस्तक्षेप नगरेको भए त्यहाँ डिएसपीको ‘रामधुलाई’ हुने निश्चित थियो,” परिसर स्रोतले दाबी गरेको छ।
हत्कडी लगाएर बदला लिने प्रयास!
घटना लगत्तै डिएसपी घिमिरेले आफ्नो शक्तिको दुरुपयोग गर्दै ती वरिष्ठ हवल्दारलाई केही घण्टा हत्कडी लगाएर नियन्त्रणमा राखेको खुलासा भएको छ। सामान्य ढिलाइलाई लिएर अपराधीलाई जस्तो व्यवहार गरिनुले संगठनभित्र घिमिरेप्रति थप घृणा र असन्तुष्टि चुलिएको छ।
विवादका ‘पर्याय’ घिमिरे: जहाँ पुग्यो त्यहाँ भिडन्त !
डिएसपी द्वारिका घिमिरेको विवादित इतिहास यो पहिलो भने होइन। उनी जहाँ जान्छन्, त्यहाँ ‘विवाद र कुटपिट’ पछिपछि आउने गरेको देखिन्छ:
• गरुडा काण्ड (२०७७): रौतहटको गरुडामा स्थानीयको आक्रोशको निशाना बन्दा उनको करङ नै भाँचिएको थियो।
• चापागाउँ काण्ड: ललितपुरकै चापागाउँ वृत्तमा हुँदा हवल्दार नवल किशोर रायसँगको विवादमा उनी कार्यालयभित्रै कुटिएका थिए।
• ललितपुर मोह: पटक-पटक विवादमा पर्दा पनि उनलाई किन बारम्बार ललितपुरमै महत्वपूर्ण जिम्मेवारी दिइन्छ? यो प्रश्न अहिले प्रहरी प्रधान कार्यालयतिर सोझिएको छ।
हाम्रो प्रश्न: कहिलेसम्म सहने यस्तो कार्यशैली?
प्रहरी संगठनभित्रैका कर्मचारीलाई दास जस्तो व्यवहार गर्ने र अपशब्द बोल्ने अधिकृतका कारण संगठनको छवि धुमिल भइरहेको छ। के डिएसपी घिमिरेलाई राजनीतिक वा शक्ति केन्द्रको आड छ? विवादित छविका अधिकृतलाई पुरस्कृत झैँ गरी सुगम र महत्वपूर्ण जिल्ला सुम्पिनुले इमानदार प्रहरीको मनोबल गिरेको छ।
लगातारका यी घटनाले डिएसपी घिमिरेको कार्यक्षमता र मानसिक सन्तुलनमाथि समेत प्रश्न खडा गरेको छ। प्रहरी नेतृत्वले यस्ता “विवादित पात्र” माथि बेलैमा कारबाही नगरे संगठनभित्र ठुलो विद्रोह नआउला भन्न सकिन्न।
















