बैठक नै नबसी संसद् स्थगन गर्नु असंवैधानिक अभ्यास : कांग्रेस

2.2K
shares

काठमाडौं । नेपाली कांग्रेसले संसद् अधिवेशनको बैठक नै नबसी पुनः स्थगन गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारको सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान हुनु संवैधानिक प्रक्रिया भए पनि बैठक नै नबसी स्थगन गर्नु संसदीय परम्परा, अभ्यास तथा संवैधानिक नैतिकताविपरीत भएको निष्कर्ष निकालेको हो।

पार्टीका प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा संसद्लाई स्वतन्त्र विमर्श र निर्णय गर्ने सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाको सट्टा कार्यपालिकाको सुविधाअनुसार सञ्चालन हुने ‘औजार’ बनाउने जोखिम बढेको उल्लेख गरिएको छ।

कांग्रेसले ‘विशेष कारण’ जस्तो अस्पष्ट आधारमा संसद् स्थगन गर्नु र त्यसबारे नागरिकलाई स्पष्ट जानकारी नदिनु सरकारको पारदर्शिता र नियतमाथि गम्भीर प्रश्न खडा गर्ने कार्य भएको जनाएको छ।

साथै, बैठकले यथाशीघ्र संसद् बैठक सुचारु गर्न सरकारसँग माग गरेको छ।


divya collage
unigloble collage