थापाथलीका ६८ सुकुमवासी परिवार सरकारको सम्पर्कमा
वि.सं.२०८३ वैशाख १२ शनिवार २०:३८
shares

काठमाडौं उपत्यकामा नदी किनार तथा सार्वजनिक जग्गामा बनेका अनधिकृत बस्ती हटाउने अभियान तीव्र बनाइएको छ। यसै क्रममा काठमाडौं महानगरपालिका वडा नं. ११ स्थित थापाथली क्षेत्रको बस्ती खाली गराइएको छ भने अन्य स्थानमा पनि हटाउने कार्य जारी रहेको छ।
महानगरका अनुसार वडा नं. ९ को गैरीगाउँ र वडा नं. ३१ को शान्तिनगरमा बस्ती हटाउने क्रम चलिरहेको छ। त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिका–८ को गोठाटार बुद्धचोक र वडा नं. ९ को मनोहरा टोलमा पनि अनधिकृत संरचना हटाउने तयारी भइरहेको छ।
उपत्यका विकास प्राधिकरणको तथ्यांक अनुसार विभिन्न क्षेत्रमा गरी कुल ८७१ घरधुरी अनधिकृत रूपमा बसोबास गर्दै आएका छन्। जसमध्ये शान्तिनगरमा सबैभन्दा बढी ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ घरधुरी रहेका छन्।
बस्ती खाली गराउने क्रममा सुरक्षाकर्मी र महानगरका कर्मचारीहरूले स्थानीयलाई सामान सार्न सहयोग गरेका छन्। थापाथली क्षेत्रमा भने स्थानीयकै सहकार्यमा शान्तिपूर्ण रूपमा बस्ती खाली गरिएको जनाइएको छ।
हालसम्म थापाथलीका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन्। उनीहरूलाई अस्थायी रूपमा दशरथ रंगशालामा राखी विवरण संकलन गरिँदैछ र पछि विभिन्न होटलमा व्यवस्थापन गर्ने तयारी गरिएको छ। घरायसी सामग्री भने कीर्तिपुरस्थित सुन्दरीघाटमा सुरक्षित राखिएको छ।
सरकारले भोलिबाट सम्पर्कमा आएका परिवारहरूको वास्तविक अवस्था पहिचान गर्ने प्रक्रिया सुरु गर्ने जनाएको छ। वास्तविक सुकुमवासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका–१ स्थित सरकारी अपार्टमेन्टमा स्थानान्तरण गर्ने योजना रहेको बताइएको छ।



















