विद्यार्थीद्वारा बानेश्वर बहुमुखी क्याम्पसमा टर्चलाईट मार्चपास तथा सिठी जुलुस प्रर्दशन
वि.सं.२०८३ वैशाख १४ सोमवार २२:२८
shares

काठमाडौं। विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध विद्यार्थीहरू पुनः सडकमा उत्रिएका छन्। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै स्वतन्त्र विद्यार्थी यूनियन, बानेश्वर बहुमुखी क्याम्पस तथा संयुक्त विद्यार्थी संगठनको संयुक्त आयोजनामा आज सिठी जुलुस प्रदर्शन गरिएको हो।
संयुक्त विद्यार्थी संगठनको आह्वानमा केही दिनयता आन्दोलनरत विद्यार्थीहरूले आज साँझ शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पस अगाडि मार्चपास गरेका हुन्। क्याम्पस गेटबाट सुरु भएको मार्चपास तथा सिठी जुलुस बाग्मती करिडोर हुँदै पेण्टागन कलेज अगाडि पुगेर कोणसभामा परिणत भएको थियो।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ‘विद्यार्थी अधिकारको रक्षा गरौँ’, ‘विद्यार्थी संगठन खारेज गर्न पाइँदैन’ र ‘लोकतन्त्रको आधार, विद्यार्थीको अधिकार’ जस्ता नारासहितका ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए।


सरकारले विश्वविद्यालय तथा प्रतिष्ठानहरूमा रहेका राजनीतिक दलनिकट विद्यार्थी संगठन तथा स्वतन्त्र विद्यार्थी यूनियन खारेज गर्ने निर्णय गरेको छ। उक्त निर्णयको विरोधमा विद्यार्थी संघ–संगठनहरू निरन्तर आन्दोलनरत रहेका छन्।

















