अन्तिमसम्मको दबाबपूर्ण खेलमा नेपाल विजयी

1.07K
shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजमा नेपालले यूएईविरुद्ध रोमाञ्चक जित हात पारेको छ। वर्षाले प्रभावित खेलमा डिएल मेथडमार्फत लक्ष्य घटाइएपछि पनि नेपालले अन्तिम समयसम्म दबाब कायम राख्दै ६ रनले जित निकाल्न सफल भयो।

यूएईले ३८ ओभरमा २५५ रनको लक्ष्य पछ्याउँदै ८ विकेट गुमाएर २४८ रनमै सीमित रह्यो। उसका लागि मोहम्मद शाहदादले सर्वाधिक ६५ रन बनाए। उनले हर्पित सिंहसँग राम्रो साझेदारी गरे पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्। अन्तिमतिर तन्विरले आक्रामक ब्याटिङ गर्दै ४९ रन जोडे पनि त्यो पर्याप्त भएन।

नेपालको बलिङतर्फ सन्दीप लामिछाने चम्किए। उनले महत्वपूर्ण समयमा तीन विकेट लिँदै खेल नेपालतर्फ फर्काए। सोमपाल कामी र नन्दन यादवले पनि दुई–दुई विकेट लिएर साथ दिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको थियो। उपकप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै शतक प्रहार गरे। उनले ९४ बलमा १०० रन बनाउँदै नेपालको इनिङ्स मजबुत बनाए।

लामो समयपछि टोलीमा फर्किएका विनोद भण्डारीले पनि प्रभावशाली खेल देखाउँदै अर्धशतक बनाए। उनले ५६ रनको योगदान दिए। साथै गुल्शन झा र कप्तान रोहित पौडेलले पनि महत्वपूर्ण रन जोड्दै टोलीको स्कोर उकासे।

यो जितसँगै नेपालले सिरिजमा आत्मविश्वास थपेको छ। अब नेपालले आफ्नो अर्को खेलमा ओमानसँग प्रतिस्पर्धा गर्नेछ, जहाँ यस लयलाई निरन्तरता दिने लक्ष्य हुनेछ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083