सिन्धुपाल्चोकमा ५६ लाखभन्दा बढीको भेपसहित ७ जना पक्राउ

1.25K
shares

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ गंजेखोलाबाट प्रहरीले ५६ लाख ७० हजार रुपैयाँ बराबरको १ हजार ६२० थान भेपसहित सात जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कोदारीबाट प्रहरी निरीक्षक जगतबहादुर राईको कमाण्डमा खटिएको टोलीले जेठ १ गते राति करिब ९ः३० बजे चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार चीनबाट भोटेकोशी–३ बोक्चेन हुँदै अरनिको राजमार्गतर्फ आउने भित्री बाटो प्रयोग गरी भेप लुकाएर ल्याइँदै थियो। ९ वटा बोराले छोपिएको कार्टुनभित्र राखिएको अवस्थामा ठूलो परिमाणमा भेप फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा भोटेकोशी गाउँपालिका–४ का ३५ वर्षीय गणेश खड्का, ४६ वर्षीय हिमाल खड्का, २४ वर्षीय विकास विक, ४८ वर्षीय रामबहादुर विक, १७ वर्षीय विशाल रक्पाल, ३७ वर्षीय मंगलबहादुर थामी तथा बाह्रबिसे नगरपालिका–५ का ४२ वर्षीय कान्छा तामाङ रहेका छन्।

उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोदारीमा राखिएको प्रहरीले जनाएको छ।

यसैबीच, नेपाल–चीन सीमास्थित तातोपानी नाकाबाट पछिल्लो एक महिनादेखि खाद्य सामग्री लगायत अनुमति नलिएका सामान ल्याउन रोक लगाएपछि सीमावर्ती क्षेत्रमा हुने झोलेपोके व्यापार प्रभावित बनेको छ। तातोपानी भन्सार कार्यालयले मितेरी पुलस्थित यात्रु शाखामार्फत प्लान्ट क्वारेन्टाइन अनुमति बिना सामान ल्याउन रोक लगाएपछि स्थानीयको दैनिक आवतजावत समेत घटेको बताइएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083