थप व्यापार बृद्धिका लागि राष्ट्रपति सिको आह्वान
वि.सं.२०७५ मंसिर १८ मंगलवार १३:०१
shares

पनामा सिटी । चीनका राष्ट्रपति सी जिनपिङले सोमबार पनामास्थित व्यापारिक समुदायसमक्ष चीन र पनामाबीच सहयोग र समन्वयको बृद्धिका लागि आग्रह गरेको समाचार छ। उनले पनामाको राजधानी पनामा सिटीमा आयोजित एक कार्यक्रममा त्यहाँका व्यापारिक समुदायलाई सम्बोधन गर्ने क्रममा दुई देशबीच सहयोग र समन्वयको बृद्धि गरी साझा विकासका साथ अघि बढ्न आह्वान गर्नुभएको प्राप्त समाचारमा जनाइएको छ।
राष्ट्रपति सी उनका समकक्षी पनामाली राष्ट्रपति हुँवा कार्लोस भरेलाले पनामा सिटीमा अविस्थत चीन पनामा व्यापार मञ्चका सदस्यहरु तथा यी दुवै देशका उद्यमीहरुलाई सम्बोधन गर्दै सो धारणा राखेका हुन्। उनीहरुले दुवै देशका व्यापारिक प्रतिनिधिहरुलाई भेटी आगामी दिनमा यी दुई देशबीचको व्यापारिक साझेदारिता के कसरी अघि बढाउन सकिन्छ भन्ने बारेमा गृहकार्य गर्न पनि आग्रह गरेका थिए।
यसबाट दुबै देशको साझा बिकास हुने भन्दै राष्ट्रपति सिले सामुहिक रुपमा लाग्न आग्रह गरेको बताइएको छ। चिनीयाँ राष्ट्रपति औपचारिक भ्रमणको क्रममा आइतबार पनामा पुगेका थिए। उनले पानामा सिटीमा ती समुदायलाई सोमबार सम्बोधन गरेका हुन्। मध्य अमेरिकी देश पनामा र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएयता चिनियाँ राष्ट्रपतिको यो पहिलो भ्रमण हो। यी दुई देशबीच सन् २०१७ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो।
कूटनीतिक सम्बन्धको स्थापना भएयता यी दुई देशबीच विभिन्न क्षेत्रमा द्वीपक्षीय सहयोग र सहकारिताका विविध कार्यक्रमहरु पनि शुरु भएका उनले बताएका छन्। चिनियाँ राष्ट्रपति सी अर्जेन्टिनामा भएको औद्योगिक राष्ट्रको बैठक जी–२० मा सहभागी भएर पनामा पुगेका हुन्। यस भ्रमणका क्रममा पनामाका उच्चस्तरीय नेताबीच द्वीपक्षीय वार्तालगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा छलफल हुने अनुमान गरिएको छ।































