जाम्बियाका राष्ट्रपति फेरी निर्वाचन लड्न पाउने
वि.सं.२०७५ मंसिर २२ शनिवार ११:५७
shares

लुसाका । जाम्बियाको उच्च अदालतले राष्ट्रपति एड्गार लुङ्गुलाई फेरी पनि निर्वाचन लड्न पाउने बाटो खोलिदिएको छ । अदालतले सन् २०२१ मा हुने निर्वाचनमा पनि उहाँले उम्मेदवार हुन पाउने फैसला शुक्रबार गरेकाले उनी फेरि पनि निर्वाचन लड्न पाउने भएका छन् । विपक्षी दलले आगामी निर्वाचनमा उनी उम्मेदवार बन्न नपाउने र त्यसका लागि रोक लगाउनु पर्ने माग गर्दै दायर गरेको मुद्दाको सुनुवाई गर्दै अदालतले यस्तो फैसला गरेको बताइएको छ ।
जाम्बियाको संविधानमा एउटा व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाउने व्यवस्था भएकाले उहाँले फेरी निर्वाचन लड्न नपाउने विपक्षीको दावी छ । लुङ्गुले यसअघि सन् २०१५ को जनवरी २५ मा तत्कालिन राष्ट्रपति मिसेल साटाको निधनपछि बाँकी अवधिका लागिे राष्ट्रपतिको जिम्मेवारी निर्वाह गरेका थिए । त्यसपछि उनले सन् २०१७ को जनवरी २५ देखि निर्वाचित नै भएर राष्ट्रपतिको जिम्मेवारी पाएका छन् ।
“उहाँले पहिलो पटक राष्ट्रपतिको जिम्मेवारी सन् २०१५ को जनवरी २५ देखि २०१६ को सेप्टेम्बर १३ सम्म सम्हाल्नु भएको थियो, यो उहाँको पुरा कार्यकाल थिएन, त्यसैले यसलाई पुरा कार्यकालको रुपमा गणना गर्न मिल्दैन,” संवैधानिक अदालतका न्यायाधीश हिल्डाह चिबोम्बाले भने। अन्य विपक्षी तीन पार्टीहरुले पनि यस विषयमा विवाद भएपछि अदालतको फैसलाको प्रतिक्षा गरेका थिए ।
“मलाई विश्वास छ, यो फैसलासँगै यस विषयको बहस अन्त्य भएको छ, यो लुङ्गुको विजय हो, सत्तारुढ पार्टीको विजय हो र जाम्बीयाका जनताको पनि विजय हो,” सत्तारुढ पार्टी पाट्रियोटिक फ्रन्टका महासचिव डेभिज मविलाले भने अदालतको फैसलापछि उनका हजारौँ समर्थकहरूले अदालत बाहिर खुशीयाली मनाएका थिए ।





























