‘चीनको आर्थिक विकासमाथि कसैले हस्तक्षेप गर्न सक्दैन’ : सी जिनपिङ

5.16K
shares

एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले चीनले आर्थिक विकासका लागि संचालन गर्ने नीतिमाथि कुनैपनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताएका छन्।

चिनीयाँ कम्युनिष्ट पार्टीले अबलम्बन गरेको ऐतिहासिक ‘सुधार एवं खुला नीति’ को ४०औं वर्षका अवसरमा बेइजिङमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले चीनको विकास र प्रगति त्यही नीतिका आधारमा निरन्तर अगाडि बढेको र त्यसलाई छाड्न नसकिने बताएका हुन्। ग्रेट हल अफ द पिपुलमा आयोजित समारोहमा करिब ९० मिनेट सम्बोधन गर्दै राष्ट्रपति सीले आर्थिक सुधारका क्षेत्रमा चीनले थप कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले हालको एक दलीय राजनीतिक प्रणालीमा कुनै परिवर्तन नहुने र अरु कुनैपनि मुलुकको आदेश लिएर काम नगर्ने बताए।

चिनीयाँ सुधार एवं खुला नीति देङ सियाओपिङको कार्यकालमा सन् १९७८ डिसेम्बर १८ मा आजकै दिन शुभारम्भ भएको थियो। तर, पछिल्ला दिनहरुमा चीन र अमेरिकाबीचको व्यापारिक युद्धले चिनीयाँ अर्थतन्त्रले अनेक संकटको सामना गर्नु परिरहेको छ। दुबै मुलुकबीच ९० दिनको व्यापारिक युद्धविराम गरी सहमतिको खोजी भइरहेको छ। अमेरिकामाथि प्रत्यक्ष संकेत नगरी राष्ट्रपति सी जिनपिङले चीन कुनै पनि मुलुकका लागि चुनौती नभएको तर यसलाई कुनामा थन्क्याउँछु भन्नु ठूलो भूल हुने बताए।

चीनले गर्न सक्ने सुधारका कार्यहरुलाई निरन्तरता दिने तर कतिपय काम हामी गर्न सकेन भन्दैमा कसैले हस्तक्षेप गर्ने प्रयास नगरे हुन्छ भन्दै सीले भने, ‘चिनीयाँ जनताले के गर्नु पर्छ वा के गर्नु हुँदैन भनेर कसैले हस्तक्षेप गर्ने परिस्थितिमा अहिले कोही छैन।’

राष्ट्रपति सीले बढीभन्दा बढी सुधारका बारेमा चीन तयार रहेको बताए पनि कुनै ठोस योजना भने घोषणा गरेनन्। देङको खुला नीतिले करोडौं चिनीयाँ जनतालाई गरिबीबाट मुक्त गरेको विश्वास गरिन्छ। साथै, यही नीतिको बलमा चीनले आफूलाई विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुकका रुपमा उभ्याएको छ।

तर पछिल्ला वर्षहरुमा चीनको ऋण बढ्दो क्रममा देखिएको छ भने आर्थिक विकासमा केही कमी आएको छ। गत वर्ष ६ दशमलब ९ प्रतिशत रहेको आर्थिक विकास यस वर्ष ६ दशमलब ५ प्रतिशतमा छ। चिनीयाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्से तुङका नीतिहरुले मुलुकमा विषम परिस्थिति सिर्जना गरेको भन्दै देङ सियाओपिङले सुधार एवं खुला नीति प्रतिपादन गरेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083