चीनको विकासको मार्गलाई कसैले होच्याउन सक्दैनः राष्ट्रपति सी जिनपिङ
वि.सं.२०७५ पुस ३ मंगलवार १६:१२
shares

बेइजिङ। चिनीया राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनैपनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताएका छन्। चिनीया कम्युनिष्ट पार्टीले अबलम्बन गरेको ऐतिहासिक “सुधार एवं खुला नीति”को ४०औं वर्षका अवसरमा बेइजिङमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले चीनको विकास र प्रगति त्यही नीतिका आधारमा निरन्तर अगाडि बढेको र त्यसलाई छाड्न नसकिने बताए।
चिनीया ग्रेट हल अफ द पिपुलमा आयोजित भव्य समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले आर्थिक सुधारका क्षेत्रमा चीनले थप कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले हालको एक दलीय राजनीतिक प्रणालीबाट विचलित हुँदैनौं र अरु कुनैपनि मुलुकबाट आदेश लिएर काम नगर्ने बताए।समाजवादको झण्डा चिनीया भूमिमा अझै उचाईका साथ सदैब फर्फराइरहनेछ,” राष्ट्रपति सीले भने। “चीनको कम्युनिष्ट पार्टीको नेतृत्व चिनीया विशेषतायुक्त समाजवादको प्रतिरुप हो र यो चिनीया विशेषता सहितको समाजवादी प्रणालीको ठूलो उपलब्धि हो ।
चिनीया सुधार एवं खुला नीति देङ सियाओपिङको कार्यकालमा सन् १९७८ डिसेम्बर १८ मा आजकै दिन शुभारम्भ भएको थियो। तर, पछिल्ला दिनहरुमा चीन र अमेरिकाबीचको व्यापारिक युद्धले चिनीया अर्थतन्त्रले अनेक सङ्कटको सामना गर्नु परिरहेको छ। दुबै मुलुकबीच ९० दिनको व्यापारिक युद्धविराम गरी सहमतिको खोजी भइरहेको छ। संयुक्तराज्य अमेरिकामाथि प्रत्यक्ष सङ्केत नगरी राष्ट्रपति सी जिनपिङले भने, “चीन कुनै पनि मुलुकका लागि चुनौती होइन तर यसलाई कुनामा थन्क्याउँछु भन्नु ठूलो भूल हुनेछ।
चिनीया जनताले के गर्नु पर्दछ वा के गर्नु हुँदैन भनेर कसैले हस्तक्षेप गर्ने परिस्थितिमा अहिले कोही छैन । हामीले गर्न सकिने सुधारका कार्यहरुलाई निरन्तरता दिनै पर्दछ, तर कतिपय काम हामी गर्न सक्दैनौं, त्यसमा कसैले हस्तक्षेप गर्ने प्रयास नगरे हुन्छ,” राष्ट्रपति सीले चेतावनीयुक्त भाषामा भने। राष्ट्रपति सीले बढीभन्दा बढी सुधारका बारेमा चीन तयार रहेको बताए पनि कुनै ठोस योजना भने घोषणा गरेनन्। संयुक्तराज्य अमेरिका र युरोपका देशहरुले लामो समयदेखि चीनको विशाल बजारमा सहज पहुँचको माग गरिरहेका छन्।
तर, उनीहरुले चिनीया कम्पनीहरुले पश्चिमा मुलुकको अर्थतन्त्रमा खुला र सहज प्रवेश पाइरहेको गुनासो गरिरहेका छन्। देङको खुला नीतिले करोडौं चिनीया जनतालाई गरिबीबाट मुक्त गरेको विश्वास गरिन्छ। साथै, यही नीतिको बलमा चीनले आफूलाई विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुकका रुपमा उभ्याएको छ। तर पछिल्ला वर्षहरुमा चीनको ऋण बढ्दो क्रममा देखिएको छ भने आर्थिक विकासमा केही कमी आएको छ। गत वर्ष ६ दशमलब ९ प्रतिशत रहेको आर्थिक विकास यस वर्ष ६ दशमलब ५ प्रतिशतमा छ।









