कोटेश्वरको जाम : डुब्ने भयो घाम !

6.19K
shares

काठमाडौं । कोटेश्वरबाट पूर्वी क्षेत्रका बासिन्दा काठमाडौं छिर्दा घण्टौं जाममा बस्नुपर्ने बाध्यता छ । कार्यालय समयमा प‍र्‍यो भने त २र३ घन्टै जाममा बित्छ । सडक जति नै चौडा भए पनि जाम घटेको छैन, बढेको बढ्यै छ । केही समयअघिसम्म सबैभन्दा बढी जामको सूचीमा कलंकी चोक अग्रस्थानमा थियो । अण्डरपास बनेसँगै कलंकी चोकमा अहिले जाममा बस्नुपर्ने बाध्यता घटेको छ । तर, कोटेश्वरमा भने तीनतिरको सडक चौडा भइसक्दा पनि जाम झन् बढेको छ ।

जानकारहरुका अनुसार कोटेश्वरमा ट्राफिक जाम बढ्नुका केही कारण यस्ता छन् :

अघोषित बसपार्क

Related image

धुलिखेलतर्फबाट आउने गाडीहरु भक्तपुरको ६ लेनको सजिलो बाटोबाट छिट्टै कोटेश्वरमा आइपुग्छन् । तर, चोकमा आइपुग्नुअघि नै लामो समय जाममा बस्नुपर्ने बाध्यता छ । खासगरी वीपी राजमार्ग भएर पूर्वतिर जाने, अरनिको राजमार्गमा चल्ने तथा भक्तपुर र काभ्रेका ग्रामीण भेगहरुमा जाने सवारी साधनको चापले कोटेश्वरमा सास्ती बढेको छ । ती रुटमा चल्ने गाडीको अघोषित बसपार्कजस्तै बनेको छ कोटेश्वर ।

बनेपा–सिन्धुली–बर्दिवास सडकखण्डमा गाडी चल्न थालेपछि कोटेश्वरमा चाप बढेको हो । सिन्धुली हुँदै झापासम्म चल्ने गाडीको स्टेशन कोटेश्वर नै हो । काठमाडौंबाट बाहिरिने सवारी साधन कोटेश्वर चोकमा पुगेर यात्रु ओराल्ने र पर्खेर बस्ने गर्छन् । कोटेश्वर चोक अघोषित बसपार्क बनेको छ ।

कोटेश्वर चोकको विमानस्थल कम्पाउण्ड अघिल्तिर भक्तपुरका विभिन्न क्षेत्र, बनेपा, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली जाने गाडी यात्रु कुरेर बसिँदा तिनकुनेसम्म असर पर्छ । ट्राफिक प्रहरीले लखेटिरहे पनि गाडीवालाले अटेर गर्ने गर्छन् । गाडीवालाहरु जाने ठाउँ पनि काहीँ छैन ।

टुँडीखेल क्षेत्रमा लागू गरिएको ‘पिक एण्ड ड्रप’ योजना कोटेश्वरमा पनि कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता देखिएको छ ।

कलंकीको अण्डरपास

Related image

कलंकी चोकमा अण्डरपास नबनुञ्जेल त्यहाँ एउटा गाडीलाई कम्तिमा आधा घण्टा जाममा बस्नैपर्ने बाध्यता थियो । पिक आवरमा त एक घन्टासम्म गाडीहरु कलंकीमै रोकिने गरेका थिए । अण्डरपास खुलेसँगै कलंकीबाट सजिलैसँग गाडीहरु पास हुन थालेका छन् र तिनीहरु चाँडै कोटेश्वरसम्म आइपुग्छन् ।

कलंकीको अण्डरपास सञ्चालनमा आएपछि कोटेश्वरबाट बालकुमारीतर्फ जाने गाडीको चाप पनि निकै बढेको छ । अण्डरपास खुलेपछि त्यताबाट आएका गाडीको लाइन पनि बालकुमारी पुलसम्मै पुगेको ट्राफिक प्रहरीको भनाइ छ । यस्तो अवस्थामा कोटेश्वरको ट्राफिक व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ ।

८ लेनको रिङरोड

Image result for ८ लेनको रिङरोड

चक्रपथको कोटेश्वर–कलंकी विस्तारको काम सकिएसँगै कलंकीबाट कोटेश्वरसम्म सहज रुपमा गाडी आउन थालेका छन् । पाँच वर्ष लगाएर विस्तार गरिएको चक्रपथ अन्तर्गत पहिलो चरणको कोटेश्वर–कलंकी १०.३९ किलोमिटर खण्डको निर्माण शनिबारमात्रै सकिएको छ । यो खण्ड ८ लेनको बनेको छ ।

अण्डरपास हुँदै कलंकीबाट बाहिरिएका सवारीलाई अब कोटेश्वरसम्म पुग्न धेरैबेर लाग्दैन । तर, कोटेश्वर चोकले ती गाडीहरुको चापलाई थाम्न सक्ने अवस्था छैन ।

सुरुङमार्गः गफमै सीमित

Related image

सडक विभागले तीनकुने–जडिबुटी खण्डमा सुरुङमार्ग (अण्डरपास) बनाउने रटान त्यागेको छैन । पछिल्ला दुई वर्षको बजेटमा समेत सरकारले कोटेश्वरमा अण्डरपास बनाउने योजना छुटाएको छैन ।

अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटमा पनि कोटेश्वरमा अण्डरपास निर्माण गरिने उल्लेख गरेका छन् । अघिल्लो बजेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरेर अण्डरपास बनाइने उल्लेख थियो । सडक विभागले विमानस्थलमुनि सुरुङ तयार पार्ने काम आफ्नो इच्छाले मात्र सम्भव नरहेको राय राष्ट्रिय योजना आयोगलाई दिएको छ । तर, बजेटमा परेपछि अध्ययन अघि बढाउने योजनामा रहेको सडक विभागका अधिकारीले बताउँदै आएका छन् ।

विभागका प्रवक्ता मुक्ति गौतमको भनाइअनुसार हालसम्म सुरुङमार्ग बनाउने योजना ठोस रुपमा अघि बढेको छैन । विभागले अण्डरपास निर्माणको सम्भाव्यता अध्ययनका लागि जापानी नियोग जाइकालाई आग्रह गरेको छ । तर, उताबाट प्रष्ट जवाफ आएको छैन ।

‘प्रारम्भिक रुपमा हामीले जाइकालाई आग्रह गरेका छौं, उताको प्रतिक्रिया बुझेर अघि बढ्छौं, उनले भने । कोटेश्वरमा अण्डरपास निर्माण गर्ने विषयमा नागरिक उड्यन प्राधिकरणले भने अनविज्ञता प्रकट गर्दै आएको छ । विमानस्थल नजिकै भएकाले विभागले प्राधिकरणसँग यसबारे छलफल गर्ने बताउँदै आए पनि त्यो हालसम्म हुन सकेको छैन । सडक विभागले गत वर्ष नै विमानस्थलसँग सीधा जोडिने भएकाले प्राधिकरणमार्फत् नै सम्भाव्यता अध्ययन थाल्नुपर्ने सुझाव दिएको थियो ।

पूर्वाधारविदको प्रश्न : बानेश्वरमा पनि सुरुङ बनाउने

Image result for बानेश्वरमा पनि सुरुङ बनाउने

पूर्वाधारविदहरु भने कोटेश्वरको जाम हटाउन अण्डरपास वा आकाशेपुल बनाएर तत्काललाई जामको समस्या कम गर्न सकिए पनि यो दीर्घकालीन समाधान नहुने बताउँछन् । प्रा। सूर्यराज आचार्य प्रतिप्रश्न गर्छन्, ‘सुरुङमार्ग बनेपछि कोटेश्वरको जाम त हट्ला तर, बानेश्वरमा त्यस्तै जाम हुन्छ । अनि यहाँ पनि सुरुङमार्ग बनाउने ?’

‘बानेश्वर चोकमा अण्डरपास बनाए बबरमहल, माइतीघरमा उस्तै जाम होला फेरि, आचार्यले भने । उपत्यकाको समग्र सडक सञ्जालभन्दा धेरै सवारी हुँदा मुख्य चोकहरुमा जामको समस्या बढेको उनको भनाइ छ । पछिल्लो समय कार्यालय समयमा मात्रै नभएर दिउँसो १२–१ बजे पनि जाम बढेको बताउँदै आचार्यले भने, ‘यसको मतलब, सडक क्षमता र सवारी चापले सन्तुलन गुमाउँदै गएको हो ।’ सार्वजनिक यातायात भरपर्दो नहुँदा निजी गाडीको संख्या बढेकाले पनि सडकमा चाप बढेको आचार्यले बताए ।

जाम कम गर्न सहरी यातायातबारे ठोस योजना बनाएर मात्र काम गर्न आचार्यको सुझाव छ । उनी भन्छन्– ‘एउटा ठाउँमा व्यवस्थापन गरेर जामको समस्या अन्त्य हुने अवस्था छैन, सडक क्षमताभन्दा बढी सवारी ओइरिएका छन्, त्यसतर्फ पनि सोच्नुपर्‍यो ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083