चिनियाँ कम्पनी हुवावेकी मेङ पक्राउ प्रकरणमा क्यानडेली राजदूत बर्खास्त

6.25K
shares

एजेन्सी । चिनियाँ टेलिकम कम्पनी हुवावेकी प्रमुख आर्थिक अधिकृत सरविना मेङ वानजाउ पक्राउ प्रकरणमा चीनका लागि क्यानडाका राजदूत बर्खास्त भएका छन्।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनका लागि राजदूत रहेका जोन म्याककलमलाई बर्खास्त गरेका हुन्। विज्ञप्ति जारी गर्दै ट्रुडोले म्याककलमलाई बर्खास्त गरिएको जानकारी दिएका छन् तर कारण खुलाएका छैनन्।

राजदूत म्याककलमले मंगलबार मेङलाई सुपुर्दगी गर्न अमेरिकाले क्यानडालाई गरेको अनुरोध त्रुटीपूर्ण रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए।

अर्को दिन उनले आफ्नो भनाइले द्वुविधा भएको भन्दै पश्चाताप व्यक्त गरेका थिए। शुक्रबार म्याककलमलाई उद्धृत गर्दै अमेरिकाले सुपुर्दगी अनुरोध फिर्ता लिए क्यानडालाई राम्रो हुने समाचार आएको थियो।

हुवावेका संस्थापक रेन झेङफेईकी छोरी मेङलाई डिसेम्बर १ तारिखमा मेक्सिको जान लाग्दा क्यानडाको भ्यानकुवरबाट पक्राउ गरिएको थियो। अमेरिकाले प्रतिबन्ध लगाएको इरानमा टेलिकम्युनिकेशन सामग्री पठाएको भन्दै अमेरिकाले मेङलाई पक्राउ पुर्जी जारी गरेको थियो।

सरविना मेङ वानजाउलाई पक्रेको ‘बदला’मा चीनले दुई क्यानडेलीलाई हिरासतमा लिएको छ।

आफ्नो राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याएको भन्दै चीनले क्यानडाका एकजना कूटनीतिज्ञ र एकजना व्यापारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। चीनमा बसेर उत्तर कोरियालाई लक्षित गरी व्यापार गर्ने क्यानडेली माइकल स्पाभोरलाई नियन्त्रणमा लिएको हो।

बेइजिङ भ्रमणमा रहेका क्यानडेली कूटनीतिज्ञ माइकल क्रोभिक पनि चिनियाँ नियन्त्रणमा छन्। हुवावेकी उपाध्यक्ष मेङलाई कडा निगरानीका बीच हिरासतमुक्त गरिएको छ।

धरौटीमा रिहा भएकी मेङको खुट्टामा जिपिएस ब्रासलेट बाँधिएको छ। यसले उनी कहाँकहाँ गइन् भन्ने देखाउँछ। निजी सुरक्षागार्डले २४ सै घन्टा उनको निगरानी गर्ने सर्त पनि राखिएको छ। मेङका हङकङको र चिनियाँ दुबै पासपोर्ट पनि क्यानडेली अधिकारीहरूले नियन्त्रणमा लिएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083