सरकारविरुद्ध सडकमा उत्रँदै कांग्रेस
वि.सं.२०७५ माघ १३ आइतवार १३:३०
shares

काठमाडौं । आफ्नो असहमतिका बीच संसदले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि रुष्ट बनेको नेपाली कांग्रेस सरकारविरुद्ध सडक संघर्षमा उत्रने भएको छ । सरकारको कार्यशैलीविरुद्ध आज (आइतबार) उसका भ्रातृ संगठनहरू तरुण दल, महिला संघ र नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंमा संयुक्त विरोध जुलुस निकाल्दैछन्।
यसअघि शनिबार पनि नेविसंघका कार्यकर्ताले स्विट्जरल्यान्डबाट फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विमानस्थलमै कालो झन्डा देखाएका थिए। तर पार्टीका तर्फबाट गरिने विरोधका कार्यक्रमबारे भने आज बस्ने केन्द्रीय समितिको बैठकले तय गर्ने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
‘आज भ्रातृ संगठनहरूले विरोध प्रदर्शन गर्ने कार्यक्रम छ,’उनले भने, ‘आज दिउँसो १ बजे केन्द्रीय समितिको बैठक बस्दैछ, त्यसमा हामी नेविसंघको महाधिवेशनलगायत आन्तरिक विषयका साथै संसदमा सरकारले देखाएको कार्यशैलीविरुद्ध कसरी उत्रने भन्ने विषयमा पनि छलफल गर्नेछौं।
प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा संवैधानिक परिषद् बैठक बोलाएर विभिन्न आयोगमा प्रमुख नियुक्ति गरिएको, संसद्मा प्रतिपक्षले रोस्ट्रम घेराउ गर्दासमेत सभामुखबाट संसद्को कारबाही अघि बढाइएको, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पताललाई संघ मातहतबाट हटाइनुले सरकार प्रतिपक्षलाई निषेध गरेर अघि बढ्न खोजेको कांग्रेसको आरोप छ।
तनहुँमा स्थापित गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघ मातहतबाट हटाउने निर्णय नसच्याए संसद्मा अवरोध जारी राख्ने पनि कांग्रेसले जनाएको छ।




























