ट्रम्पसँग वार्ता गर्न रेलमा चढेर भियतनामतर्फ लागे उत्तर कोरियाका नेता किम जोङ उन !
वि.सं.२०७५ फागुन १२ आइतवार १३:०८
shares

एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष किम जोङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि भियतनामतर्फ प्रस्थान गरेका छन्। नेता किम रेलमार्गबाट भियतनामको राजधानी हनोइ पुग्ने छन्। उत्तर कोरिया शीर्ष नेताहरुले विदेश भ्रमण जाँदा पहिले पनि आफ्नै रेलको प्रयोग गर्दै आएका छन्।
किम ईल सुङ र किम जोङ इले पनि चीनको भ्रमण जाँदा रेलमार्गकै प्रयोग गर्ने गर्दथे। स्थानीय समयअनुसार कि जोङ उन शनिबार राति ९ बजे चीनको सीमावर्ती शहर डानडोङमा पुगेका छन्। ट्रम्प–किम शिखर सम्मेलन आगामी बुधबार र बिहीबार भियतनामको राजधानी होनईमा हुँदैछ। उनीहरुको बीचमा पहिलो शिखर सम्मेलन गतवर्ष सिंगापुरमा भएको थियो।
किम आफ्नी बहिनी किम यो जङ र पूर्वजनरल किम योङ चोल तथा अन्य सहयोगीका साथ भियतनामतर्फ प्रस्थान गरेका हुन्। ट्रम्पले गएको सेप्टेम्बर महिनामा अमेरिकामा एक र्यालीलाई सम्बोधन गर्दै किम र आफू प्रेममा परेको बताएका थिए। साथै किमले आफूलाई सुन्दर पत्र पठाएको समेत जनाएका थिए।
विगत लामो समय देखि दुष्मनीपूर्ण सम्बन्ध रहेका अमेरिका र किम जोङ उनको बीचमा सिंगापुर समिट भएपछि दुई देशको बीचमा सम्बन्ध सुधार भएको छ। किम र ट्रम्पको शिखर वार्ताले अमेरिका र कोरियाको बीचमा रहेको असमझदारी अन्त्य हुने विश्वास गरिएको छ।































