४८ हजार चालकलाई प्रशिक्षण दिइने

4.85K
shares

काठमाडौं। नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि ४८ हजार चालक तथा सहचालक लाई प्रशिक्षण दिने भएको छ।

सङ्गठनले पछिल्लो समय सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सो अभियान सञ्चालन गर्न लागेको हो। सङ्गठनका अध्यक्ष भीमज्वाला राई नेपालमा दैनिक ७/८ मानिसले सडक दुर्घटनाबाट अकालमा ज्यान गुमाउनु परेको घटनालाई मध्य नजर गर्दै उक्त अभियान सञ्चालन गर्न लागेको बताउँछन्। “सातै प्रदेशमा रहेका सवारी साधनमा कार्यरत सवारी चालक र सहचालकलाई सडक अनुशासन र ट्राफिक नियमबारे जानकारी दिन्छौँ, जसले गर्दा दुर्घटनामा कमी आओस्”, उनले भने।

सङ्गठनले सवारी ‘दुर्घटना न्यूनीकरण सम्भव छ’ भन्ने नारासहित देशभर रहेका मजदूर सङ्गठन मध्ये प्रत्येक महिना एकपटक न्यूनतम २० जना चालक तथा सहचालक लाई जम्मा गरेर ट्राफिक प्रहरी मार्फत प्रशिक्षण गराउने भएको छ। अभियान अन्तर्गत सङ्गठनले ‘म जिम्मेवार यातायात मजदूर’ भन्ने स्टिकर निर्माण गरी सबै सार्वजनिक यातायातमा टाँस्ने भएको छ। स्टिकरमा मादक पदार्थ सेवन गरी सवारी चलाउँदिन, सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्दिनँ, महिला, बालबालिका तथा अशक्तलाई सम्मान गर्छु, बालश्रम प्रयोग गर्दिनँ, तीव्र गतिमा सवारी चलाउँदिन, तोकिएको भन्दा बढी भाडा लिन्नँ, सधैँ ट्राफिक नियमको पालना गर्छु लगायत का वाक्यहरू प्रयोग गरिएका छन्।

यस्तै, यातायात मजदूरलाई हुने रक्तचाप, मधुमेह, आँखा, मुटु, मिर्गौला जस्ता रोग परीक्षणका लागि शिविर राखी निःशुल्क स्वास्थ्य परीक्षण समेत गर्ने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्त सडक दुर्घटनाबाट वार्षिक दुई हजार ५०० देखि तीन हजारसम्म मानिस मर्ने गरेको बताउँछन्। “सडकमा हुने दुर्घटना रोक्न प्रशिक्षण फलदायी हुनेछ”, उनले भने। सबै चालक तथा सहचालक जिम्मेवार भए सवारी दुर्घटनामा ठूलो कमी आउने उनको भनाइ छ। यातायात व्यवस्था विभागका अनुसार हाल मुलुकभर ३२ लाख तथा काठमाडौँ उपत्यकामा नौ लाख सवारी साधन सञ्चालनमा रहेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083