भारतमाथि हमला गर्ने जैश ए मोहम्मद समुहका प्रमुख मसुद अझरको हत्या
वि.सं.२०७५ फागुन २० सोमवार १४:१८
shares

नयाँदिल्ली। कश्मीरमा ४० जना भन्दा बढी भारतीय सुरक्षाकर्मीको ज्यान जाने गरी हमला गर्ने अतिवादी समुह जैश ए मोहम्मदका प्रमुख मसुद अझरको मृत्यु भएको खबर सामाजिक संजालमा भाइरल बनेको छ।
भलै यसको पुष्टि भने कतैबाट भएको छैन। खासगरी भारतमा ट्वीटर प्रयोगकर्ताहरुले उनको मुत्यु भएको भन्दै ह्यासट्याग अभियान चलाएका हुन्। कतिपय भारतीय मिडियाले त उनको मृत्युको समाचार नै बनाएका छन्।
पाकिस्तानमा रहेका भनिएका मसुद अघिल्लो दिन सख्त बिरामी भएको समाचार सार्वजनिक भएको भोलि पल्टै ट्वीटर प्रयोगकर्तामाझ मृत्युको ह्यासट्याग अभियान चलेको हो। MasoodAzharDead नामको ह्यासट्याग पछिल्लो समय भाइरल नै बनाइएको छ।
सामाजिक संजालमै कतिपयले त भारतीय सैन्य कारवाहीको क्रममा बालाकोटमा उनी मारिएको भन्दै प्रचार पनि गरेका छन्। आइतबारै यस्तो अभियान सामाजिक संजालमा भाइरल बनेको हो।
कश्मीर हमलाको जिम्मा लिएको जैश ए मोहम्मद समुहले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन। भारतीय राष्ट्रिय झण्डा, भारतीय जनता पार्टीको झण्डा तथा प्रधानमन्त्री नरेन्द्र मोदीका तस्बिर सहितका अधिकांश ट्वीटर प्रयोगकर्ताबाट उनको मृत्युको खबर भाइरल बनाइएको छ।
































