विलासी जीवनले मधुमेहका रोगी बढ्दै : सन्दर्भ आज विश्व मधुमेह दिवस

5.98K
shares

चितवन । असन्तुलित खानपानसँगैको विलासी जीवनका कारण दिनहुँ मधुमेह रोगीको सङ्ख्या बढ्दै गएको छ । जसकारण नसर्ने अन्य रोगहरुबाट प्रभावित हुनेहरु पनि बढ्दै गएका छन् । सन् १९९१ बाट विश्वभर नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाईंदै आइएको छ । यस वर्षको नारा ‘परिवार र मधुमेह’ रहेको छ । लामो समयदेखि मधुमेहका बिरामीको उपचारमा सक्रिय डा भोजराज अधिकारीका अनुसार मधुमेह बिरामी बर्षेनी थपिँदै गएका छन् ।

उहाँका अनुसार हाल विश्वमा ४५ करोड मधुमेहका बिरामी रहेको तथ्याङ्क छ । ती मध्ये सात दशमलव १० प्रतिशत उच्च जोखिमका छन् । सबैभन्दा बढी भारत र चीनमा मधुमेहका रोगी छन् । डा अधिकारीले भन्नुभयो, “विश्वका मधुमेह रोगी मध्ये २० प्रतिशत भारत र चीनमा छन् ।” यी दुई देशको बीचमा नेपाल छ । एउटै रहनसहन र खानपानका कारण नेपाल पनि मधुमेहको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो ।

विकासोन्मुख देशहरुका जनता गरीबबाट धनी हुँदै जाँदा हुने विलासी जीवन र खानपानका कारण नेपाल जस्ता देशमा मधुमेहका रोगीहरु ह्वात्तै बढ्ने गरेका छन् । वि.सं. ०६७ मा सात जना मधुमेहका बिरामीबाट उपचार शुरु गरेको बताउने डा अधिकारी अहिले सात हजार हाराहारी आफ्नो निगरानीमा रहेको बताउनुहुन्छ । उहाँ जस्ता अरू धेरै चिकित्सकले नेपालमा मधुमेहका बिरामी हेर्दै आएका छन् । नेपालमा १० दशमलव ५ प्रतिशत पुरुष र सात दशमलव ९ प्रतिशत महिलामा मधुमेह रहेको तथ्याङ्क छ ।

जिल्लाको सौराहामा गरिएको एक सर्वेक्षणमा २४४ परिवारमध्ये ५० परिवारमा मधुमेह भेटिएको थियो । मधुमेह समाज चितवनका सचिव केशव देवकोटा अनियन्त्रित आहारविहार, असन्तुलित खानपान र विलासी जीवनका कारण मधुमेह रोगीको सङ्ख्या बढ्दै गएको बताउनुहुन्छ । मधुमेह रोगीलाई चिनी र चिल्लो बोसोयुक्त प्रशोधित खानेकुरा, चिनी, सख्खर, जुस, जाम, मह, चकलेट, मिठाई, गुलियो पेयपदार्थ, हर्लिक्स, खुवा, चाकु, केक, आइसक्रिम, बिस्कुट, घ्यू, नौनी, बोसो, तारेको वा भुटेको खाना नखान उहाँको सुझाव छ ।

मुख सुख्खा हुनु, बढी तिर्खा लाग्नु, पटक पटक पिसाब हुनु, पिसाबको मात्रा धेरै हुनु, राम्ररी खाना खाए पनि दुब्लाउँदै जानु, रुचि बढ्नु वा भोक धेरै लाग्नु, बराबर घाउ खटिरा आउनु तर निको हुन समय लाग्नु, शरीर खासगरी गुप्ताङ्क चिलाउनु, दृष्टि धमिलो हुनु, हातगोडा झम्झमाउनु मधुमेहको मुख्य लक्षण रहेको डा अधिकारीले बताउनुभयो । रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083