‘योगगुरु रामदेवसँगको सहकार्य टुटेको छैन’ : डा. उपेन्द्र महतो

5.25K
shares

वीरगञ्ज । व्यवसायी डा. उपेन्द्र महतोले भारतीय योगगुरु बाबा रामदेवसँगको सहकार्य नटुटेको दावी गरेका छन् ।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्षसमेत रहेका उनले पतञ्जली आयुर्वेद भारतसँगको सहकार्यमा स्थापना गरिएको उद्योगबाट बाबाले हात झिेकेको कुरा अफवाह मात्रै भएको बताएका छन् । विभिन्न कार्यक्रमको सिलसिलामा वीरगञ्ज आएका डा।महतोले संक्षिप्त प्रतिक्रिया दिदै सहकार्य कायम रहेको दावी गरेका हुन् ।

वीरगञ्ज आएको बखत उद्योगको स्थलगत अवलोकनसमेत गरेर फर्किएका उनले छिट्टै आचार्य बालकृष्ण उद्योगमा आउने जानकारी समेत गराए । ‘मैले पनि पत्रपत्रिकाहरुमा त्यस्तो समाचार आएको हल्ला सुनेको हुँ । तर, त्यस्तो केही भएको छैन । हामीबीचमा पहिलाको जस्तै सम्बन्ध छ,’ उनले भने, ‘केही दिनमा आचार्य बालकृष्ण स्वयं उद्योगको भ्रमणका लागि आउँदै हुनुहुन्छ ।’

बाबा रामदेव भारतमै पतञ्जलीको विस्तारमा व्यस्त भएका कारण यसमा ध्यान दिन नभ्याएको उनको भनाइ छ । नेपाल मेडिसिटी अस्पतालको निर्देशकसमेत रहेका डा। महतो मेडिसिटीको सहयोगमा वीरगञ्जमा आयोजना गरिएको प्याब्सन जिल्ला स्तरीय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटनका लागि श्रीमती समतासँगै वीरगञ्ज आएका थिए ।

उद्योग स्रोत भन्छ : सम्बन्ध टुटिसकेको छ

महतोले सहकार्य नटुटेको दावी गरेपनि ०७४ को फागुनमा होली पर्व सकिए लगत्तै उद्योगमा रामदेव बाबाको तर्फबाट राखिएका आरके शर्मा लगायतका कर्मचारीहरुले उद्योग छोडेर गइसकेका छन् ।

उनीहरु गएपछि भारतको पतञ्जलीबाट कुनैपनि कर्मचारीहरु पठाइएको छैैन । शुरुमा पतञ्जली आयुर्वेद प्राईभेट लिमिटेड नेपाल भनेर उद्योग स्थापना गरिएको भएपनि भारतीय पतञ्जलीसँगको सहकार्य टुटेपछि नेपाल ग्रामो उद्योग प्रालि दर्ता गरी उत्पादन शुरु गरिएको छ । बाबा रामदेव र आचार्य बालकृष्णको फोटोसहित उद्योग अगाडि राखिएको बोर्डसमेत हटाउने तयारी भइरहेको उद्योग स्रोतले जनाएको छ ।

उपेन्द्र महतोको तर्फबाट खटिएका नेपाली व्यवस्थापक र कर्मचारीहरुले नै उद्योग सञ्चालनमा ल्याइरहेका छन् । अभियान स्वाबलम्बन भन्ने नारा लिएको नेपाल ग्रामो उद्योगको वेभसाइटमा नेपालकै पहिलो आयुर्वेदिक बस्तु उत्पादन गर्ने उद्योग भनिएको छ । वीरगञ्ज पथलैया सडक खण्डको प्रसौनीमा रहेको उद्योगमा २५ करोड लगानी गरिएको बताइन्छ । ९ विगाहा क्षेत्रफलमा स्थापना गरिएको उद्योगको २४ नोभेम्बर २०१६ मा बाबा रामदेव र आचार्य बालकृष्णको उपस्थितमा राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गरेकी थिइन् ।

उद्घाटन समारोहमा योगगुरु बाबा रामदेवले एक वर्षभित्रै पतञ्जली उद्योगमा दुई हजार मानिसले रोजगारी पाउने र पाँचरसात वर्षभित्र पतञ्जलीको माध्यमबाट थप १० हजार नेपालीले रोजगार पाउने उदघोष गरेका थिए । तर, अहिले कम्पनी नै जसो तसो सञ्चालनमा रहेको स्रोतले जनाएको छ । ‘कम्पनीलाई फाईदा हुनका लागि १९ करोडको सेल हुनुपर्छ, तर त्यसो हुन सकेको छैन ।’ स्रोतले भन्यो ।

महत्तो र योगगुरु रामदेवबाबा पक्षका कर्मचारी बीचको विवाद उत्कर्षमा पुगेपछि भारतीय तर्फबाट हुने सबैखाले सहयोग बन्द गरिएको छ । नेपालको ‘लेवर ल’ को वेवास्ता गरेर भारतीय पक्षले मनोमानी गर्न थालेको भन्दै यहाँका मजदुरहरुले संगठित रुपमै विरोध गरेका थिए ।

उद्योगले जुस, साबुन, सेम्पु, डिटर्जेन्ट सर्फ, विस्कुट, तेल, चाउचाउ, दन्तमन्जन, च्यवनप्रास, घ्यू, मह, मसाला, औषधिलगायत २० भन्दा बढी प्रकारका आर्यर्वेदिक सामानहरु उत्पादन गर्दै आइरहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083