प्रधानन्यायाधीशमा फेरि पनि ‘जोशी’को नाम सिफारिस

5.98K
shares

काठमाडौं । न्याय परिषद्ले भावी प्रधानन्यायाधीश बन्न सक्ने न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएको छ। न्याय परिषद्का सचिव नृपध्वज निरौलाले दुई जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएका हुन्।

प्रधानन्यायाधीशको पद रिक्त हुनभन्दा एक महिना अघि नै प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने संबैधानिक व्यवस्था बमोजिम न्यायाधीशहरूको नाम पठाइएको हो। हालका प्रधानन्यायाधीश ओमप्रकाश मिश्र १७ पुसमा उमेर हदका कारण सेवा निवृत्त हुँदैछन्। न्याय परिषदले सर्वोच्च अदालतमा तीन वर्ष काम गरेका न्यायाधीशहरू दीपकराज जोशी र चोलेन्द्र शमशेर जबराको नाम सिफारिस गरेको हो।

जोशी यसअघि पनि प्रधानन्यायाधीशमा सिफारिस भएर संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएका व्यक्ति हुन्। न्याय परिषद्ले जोशीको नाम कैफियतमा राखेर पठाएको जनाएको छ। सर्वोच्चमा तीन वर्ष सेवा गरेका तीन जना न्यायाधीशलाई सिफारिस गर्नुपर्ने व्यवस्था भएपनि तीन वर्ष नपुगेका कारण दुई जनाको मात्रै नाम सिफारिस भएको हो। अवधि सकिनुभन्दा एक महिना अघि प्रधानन्यायाधीश विदामा बस्ने र कायम मुकायमले एक महिनासम्म सर्वोच्चको नेतृत्व गर्ने प्रचलन हुन्छ।

तर मिश्रले घरविदा नबस्ने जनाउ दिएका छन्। त्यो एक महिनाको बीचमा प्रधानन्यायाधीशको सिफारिस गरिसक्नु भए पनि ढिलागरी सिफारिस हुने गरेको छ। अब केही दिनमै संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीशको सिफारिस गर्नेछ। स्रोतका अनुसार केही दिनमै बैठक बसेर जबरालाई प्रधानन्यायाधीशका सिफारिस गर्ने तयारी भएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083