न्याय खोज्न दिउँसै टर्च बालेर प्रशासनमा धर्ना
वि.सं.२०७५ मंसिर १९ बुधवार १५:४१
shares

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनाको दोषी पत्ता नलागेपछि निर्मलाको न्यायका लागि दबाब दिँदै आएको नागरिक संघर्ष समितिले न्याय हराएको भन्दै टर्च बालेर सांकेतिक प्रदर्शन गरेको छ । घटनाको चार महिना बितिसक्दा पनि वास्तविक दोषी पत्ता नलागेपछि सरकारलाई दबाब दिन दोहोरो आन्दोलन थालेको संघर्ष समितिले आज हराएको न्याय खोज्न भन्दै टर्च बालेर सांकेतिक प्रदर्शन गरेको हो ।
अधिकारकर्मी सहितको संघर्ष समितिले आज कञ्चनपुर जिल्ला प्रशासनको हाताभित्र नाराजुलुस गर्दै टर्च बालेर सांकेतिक प्रदर्शन गरेका हुन् । उनीहरुले देशमा न्याय हराएको भन्दै आफूहरुले टर्च बालेर न्याय जोख्ने प्रयास गरेको बताएका छन् । यसअघि, नागरिक संघर्ष समितिले सोमबार र मंगलबार ११ बजेदेखि ४ बजेसम्म जिल्ला प्रशासन कार्यालयको गेटमा कालो पट्टी बाधेर विरोध जनाएका थिए ।
तर, बुधबार भने संघर्ष समितिले प्रशासनको मूल गेटमै बसेर टर्च बालेर विरोध प्रदर्शन गरेका छन् । उनीहरुले निर्मला जस्ता छोरीको सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका छन् । संघर्ष समितिले दबाबमूलक आन्दोलनसँगै पीडित परिवारले सुरु गरेको अनिश्चितकालीन धर्नामा पनि ऐक्यबद्धता जनाउदै आएको छ । सरकारले आफूहरुको आन्दोलनलाई बेवास्ता गरे पुनः छलफल गरी आन्दोलनका थप कार्यक्रम तय गरिने अधिकारकर्मी शारदा चन्दले बताइन् ।













