भन्सार प्रमुखसहित ६ जनाविरुद्ध ७५ करोड रुपैयाँ मागदाबी गर्दै मुद्धा दायर
वि.सं.२०७५ मंसिर २४ सोमवार १६:२३
shares

काठमाडौँ । रसुवा भन्सारका तत्कालीन भन्सार अधिकृतसहित ६ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले करिब ७५ करोड रुपैयाँ मागदाबी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
विभागले रसुवा भन्सारका तत्कालीन भन्सार प्रमुख पवित्रकुमार खड्का, नायव सुब्बा धिरजकुमार थापाविरुद्ध मुद्धा दायर गरेको हो । यस्तै, मितेरी इन्टरनेसनलका प्रोपाइटर सुमन श्रेष्ठ र सामान धनी रञ्जन त्रिपाठीविरुद्ध पनि मुद्धा दायर गरिएको छ । घोषणै नगरी सामान पास गरेको अभियोगमा उनीहरूविरुद्ध जरिवानासहित जनही १५ करोड रुपैयाँ बिगो र ३ वर्ष कैद मागदाबी गरिएको छ ।
त्यस्तै, दुई जनालाई मतियारका रुपमा मुद्दा दायर गरिएको छ । जसमा लाङटाङ ट्रेड कन्सर्नका प्रोपाइटर धनबहादुर तामाङ र गाडी चालक डम्बरबहादुर श्रेष्ठ छन् । उनीहरू दुवैविरुद्ध जनही ७ करोड ५९ लाख रुपैयाँ बिगो र डेढ वर्ष कैद मागदाबी गरिएको छ ।
यी सबैको ‘सेटिङ’ मा गत १८ साउनमा रसुवाबाट पास भएको एक ट्रक सामान विभागले नियन्त्रणमा लिएको थियो । ‘एडिडास’ ब्रान्ड उल्लेख भएका ‘गेमसेट’ राखिएको ट्रक सामान घोषणै नगरी भन्सार पास गराइएको थियो । ट्रक र ट्रकका सामान जफत गर्ने मागदाबी पनि विभागले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।






























