भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि बनेन विद्यालय भवन

4.54K
shares

गोरखा। गोरखा नगरपालिका–६ डुम्रीडाँडामा रहेको श्री रत्नलक्ष्मी माध्यमिक विद्यालयको भूकम्प गएको साढे तीनवर्ष बितिसक्दा पनि पुनःनिर्माण शुरु हुनसकेको छैन। भारतीय सरकारले निर्माण गरिदिने भनिएको उक्त विद्यालयको पुनःनिर्माण नभएपछि अहिले भूकम्पले भत्किएको भवनमा नै जोखिम मोलेर पठनपाठन हुँदैआएको छ।

भवन बन्न नसकेपछि प्राविधिकले रातो स्टिकर टाँसरे बस्न नहुने भनेको भवनमा नै अहिले विद्यार्थी राखेर विद्यालयले पठनपाठन गर्दै आएको प्रधानाध्यापक साधना त्रिपाठीले जानकारी दिए। चर्केको भवनमा बालकक्षा, नर्सरी, ८, ९ र १० कक्षाका विद्यार्थी राखेर कक्षा सञ्चालन गर्दै आएका छौँ”, उनले भने, “कक्षाकोठाको अभाव भएपछि जोखिम मोलेरै भए पनि विद्यालय सञ्चालन गर्नुपरेको छ।

भूकम्पपछि भारतीय दूतावासले उपलब्ध गराएको पालमुनि विद्यालयले कक्षा सञ्चालन गर्दै आएको भए पनि अहिले पालसमेत च्यातिएपछि फेरि पुरानै चर्केको भवनमा विद्यार्थी राख्नुपरेको उनले बताए। “गएको वर्ष कक्षा आठको नतिजा राम्रो आएपछि अन्य विद्यालयबाट समेत विद्यार्थी भर्ना हुन आएका थिए, विद्यालयको भवन ढल्न लागेको देखेपछि भर्ना भएका विद्यार्थी विद्यालय छोडेर अन्य विद्यालयमा पढ्न जान थालेका छन्”, प्रधानध्यापक त्रिपाठीले भने।

जोखिमयुक्त भवनमा नराख्ने हो भने चौरमा बाहेक अन्त विकल्प नै नभएको उनले बताए। बाँकी कक्षा कोठा टिनले बारेको टहरामा सञ्चालन गर्दै आएको उनले जानकारी दिए। जस्ताकै बार जस्ताकै छाना भएकाले चिसोमा अति चिसो र गर्मीमा अति गर्मीे हुने हुँदा विद्यार्थीलाई पढ्न सकस भएको उनले बताए।

भारत सरकारले विद्यालयको भवन निर्माण गरिदिने भनिए पनि ढिलाइ गरेका कारण अहिलेसम्म पनि भवन निर्माण शुरु हुन नसकेको प्रधानध्यापक त्रिपाठीको भनाइ छ। भवन निर्माण गर्दा ठेकेदार भारतीय नै हुनुपर्ने अडानका कारण ढिलाइ भएको भन्ने जानकारी आएको उनले बताए। रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083