पूर्व राष्ट्रपति यादवले भने – बेलैमा नसोचे धर्मका नाममा द्वन्द्वको खतरा
वि.सं.२०७५ मंसिर २५ मंगलवार १६:३६
shares

ललितपुर । पूर्व राष्ट्रपति डा.रामवरण यादवले धर्म संस्कृतिको विषयलाई संविधान बमोजिम संसदले बेलैमा सम्बोधन गर्नेबारे ठोस निर्णय नलिए देशमा नयाँ द्वन्द्व निम्तन सक्ने खतरा औंल्याएका छन्। मंगलबार ललितपुरको महालक्ष्मी नगरपालिका—८ बिष्णुडोलमा खानेपानी क्षमता अभिवृद्धिका लागि महायज्ञ शुभारम्भ गर्दै धर्म र संस्कृतिको विषय संवेदनशील भएकाले बेलैमा होश पुर्याउनुपर्नेमा जोड दिए।
धर्म संस्कृतिको व्यवस्थापन जटिल भएपनि संविधान अनुरुप यसको व्यवस्थापन अनिवार्य भएको उनको भनाइ थियो। धर्म संस्कृतिबारे उठेको विषय बेलैमा व्यवस्थापन नगरे त्यसले द्वन्द्व निम्त्याउन चाहनेलाई हतियार मिल्न सक्ने खतरा औल्याउँदै यादवले भने, ‘संसारमा धर्मको विषयले ठूला युद्धहरु भएका छन्, हामीले बेलैमा होश पुर्याउन जरुरी छ। आफूले यही स्थिति आउने खतरा देखेर संविधान जारी गर्दा दलहरुलाई मधेसको समस्याका अलावा धर्म संस्कृतिको विषयमा गम्भीर भएर सोच्न भनेको स्मरण गराए।
उनले भने, ‘मलाई थाहा थियो कि यस्तो समस्या आउन सक्छ, त्यसैले मैंले सबै दलहरुलाई सहमति निर्माणका लागि आग्रह गरेको थिएँ। पूर्व राष्ट्रपति यादवले देशमा विकासका नाममा विनाश भइरहेको औल्याउँदै बेलैमा सोच्न आग्रह गरे। सडकलगायत पूर्वाधार निर्माणका लागि चुरेका जङ्गल फडानी भइरहेकोले भविष्यमा पानीको संकट बढेर अर्को द्वन्द्व निम्तनसक्ने औंल्याए। चुरे क्षेत्रमा निर्माण गर्ने भनिएको मदन भण्डारी राजमार्गले विकास भन्दा विनाश गर्न सक्ने उनको भनाइ थियो।
यादवले भने, ‘आदरणीय मदन भण्डारीको नाममा बन्न लागेको राजमार्गले चुरेको विनाश हुन सक्छ जसले तराईमा पानीको हाहाकार हुन सक्छ। ललितपुर क्षेत्र नम्बर १ का सांसद नवराज सिलवालले धर्म संस्कृतिलाई बेवास्ता गर्दा देशमा भ्रष्टाचार र अनैतिक कार्यहरु मौलाएको बताए। उनले भने,‘हामीले हाम्रो धर्मलाई बेवास्ता गर्दा भ्रष्टाचार मौलाएको छ ।




























