हाम्रा संस्कृति अमूल्य नीधि हुन् : राष्ट्रपति भण्डारी

4.43K
shares

काठमाडौं । राष्ट्रिपति विद्यादेवी भण्डारीले मर्यादा पुरुषोत्तम भगवान् श्रीराम र माता जानकीको विवाह सम्पन्न भई विवाह पञ्चमीले ख्याती प्राप्त भएको मार्ग शुक्ल पञ्चमी तिथिको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेकी छन्।

बुधबार एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो संस्कृति हामी नेपालीको अमूल्य नीधि भएको बताइन्। देश धार्मिक र सांस्कृतिक विविधताले सम्पन्न रहेको सन्देशमा उल्लेख गरेकी छन्।

“प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले हामीहरुबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ पार्न सहयोग पु–याएको छ। यसबाट हामीमा राष्ट्रिय एकताको भावना जागृत गरेको छ,” राष्ट्रपति भण्डारीद्वारा जारी गरिएको सन्देशमा उल्लेख छ।

आदिकालमा ज्ञान, शिक्षा र सांस्कृतिक वैभवले सम्पन्न मिथिला भूमिमा रहेको आदर्श राज्य र राजर्षी जनकको महिमाको गायन युगौँयुगदेखि हुँदै आएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यस्तो गौरवपूर्ण स्थलमा हुने विवाह पञ्चमी महोत्सवको आफ्नै ऐतिहासिक महत्व रहेको र यसले हामीलाई सधैँ गौरवान्वित बनाइरहने बताइन्।

विभिन्न क्षेत्र र भूभागमा बसोबास गर्ने थुप्रै आस्था र विश्वास बोकेका सम्प्रदायको उत्साहपूर्वक सहभागिता हुने यस पावन अवसरमा नेपालीहरुबीच आपसी मेलमिलाप, भातृत्व, सामाजिक सद्भाव, सहिष्णुता र असल छिमेकी सम्बन्ध सुदृढ बनाउन मद्दत पुगोस् भन्ने उनले शुभकामना व्यक्त गरेकी छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083