अश्लील एवं यौनसम्बन्धित थप तीन लाख वेबसाइट बन्द गर्ने सरकारी तयारी

4.56K
shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौनसम्बन्धित थप तीन लाख वेबसाइट बन्द गरिने बताएका छन् । बेथानचोक गाउँपालिका–२ गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन) एक्सचेन्जको आइतबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भने, ‘पच्चीस लाख अश्लील वेबसाइट बन्द गर्‍यौँ, क्रमैसँग अब यस्तै खालका थप तीन लाख वेबसाइट बन्द गर्दैछौँ ।

इन्टरनेटको पहुँचसँगै अश्लील वेबसाइटले विकृत मानसिकता पैदा गर्ने भएकाले समाजमा असल नागरिकका रुपमा स्थापित गराउन र सुरक्षित वातावरण निर्माण गर्न अश्लील वेबसाइट बन्द गर्नुपर्ने आवश्यकता रहेको मन्त्री बाँस्कोटाको भनाइ थियो । ‘मुलुकभर टेलिफोन सेवा विस्तार गर्न सरकारले तीव्ररुपमा काम भइरहेको छ,’ उनले भने, ‘एक वर्षभित्र १५० गाउँपालिकामा पूर्णरुपमा र ६९ गाउँपालिकामा आंशिक रुपमा इन्टरनेट सेवा पुर्‍याइनेछ ।

टेलिकम कुनाकन्दरामा बसेका नेपाली नागरिकसम्म पुग्ने र यो कार्य सरकारको दायित्वसमेत भएको मन्त्री बाँस्कोटाले बताए । आउँदो वर्ष नेपाल टेलिकमको ‘चित्र’ भिन्न रुपमा प्रस्तुत हुने भएकाले टेलिकमको सेवा लिएर मनोरञ्जन लिन उनले आग्रह गरे । ‘टेलिकमको महसुल सस्तो छ, सकारात्मक वेबसाइट खोल्नुस्, ज्ञानवर्द्धक कुरा लिनुस् र भरपुर मनोरञ्जन लिनुस्,’ उनले भने । नेपाल टेलिकमका महाप्रबन्धक सूर्यभक्त पोखरेलले टेलिकमले स्मार्ट स्कूल बनाउने योजना बनाइरहेको बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083