ठेकेदार भागेपछि मेलम्चीमा कामदारको बिचल्ली, होटलहरूले खाना दिन समेत छाडे
वि.सं.२०७५ पुस ४ बुधवार १३:५६
shares

काठमाडौं । काठमाडौंको सुन्दरीजलमा मेलेम्ची खानेपानीको मुख्य प्रशोधन केन्द्र निर्माणको काम धमाधम चलिरहेको छ । दैनिक १७ करोड लिटर पानी प्रशोधन हुने गरी निर्माणाधीन केन्द्रमा पहिलो भाग अन्तर्गतको प्रशोधन केन्द्र निर्माण भइसकेको छ भने दोस्रो निर्माणका क्रममा छ । मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन गरेर काठमाडौंमा वितरण गरिने छ । जसका लागि अहिले प्रशोधन केन्द्र निर्माण गर्ने काम चलिरहेको छ ।
तर मेलम्चीबाट पानी आउने सुरुङ निर्माण गर्ने ठेक्का पाएको इटालियन कम्पनी सीएमसीका प्रतिनिधि काम छाडेर बेपत्ता भएपछि काम मात्र रोकिएको छैन, कामदारको दैनिकी समेत प्रभावित बनेको छ । सीएमसीका प्रमुख म्यानेजर क्रिस्टियानो ग्रेको लगायत ८ जना आइतवार अपराह्नदेखि आयोजनास्थल छाडेर भागेपछि मजदूरहरूले राम्ररी खाना समेत खान पाएका छैनन् । सीएमसीका प्रमुख म्यानेज ग्रेको लगायतको टोली आयोजना अलपत्र पारेर भाग्न लागेका बेला पक्राउ परेको खबरले मलेम्चीका मजदूरमा अन्यौलता थपेको त छ नै स्थानीय होटलले खान समेत दिन छाडेका छन् ।
सीएमसीले सुन्दरीजलमा सुरुङको ३५ मिटरसम्म स्टील पाइप राख्ने, सुरुङ बाहिरबाट प्रशोधन केन्द्रसम्म डीआई पाइप राख्ने, सुरुङ सफा गर्नेगरी पानी बगाउन ‘फ्लसिङ पाइप’ राख्ने, हाइड्रोलिक गेट भल्भ बनाउने काम गर्ने जिम्मेवारी थियो । जसका लागि सुन्दरीजलमा मात्रै १ सय ३६ जना कामदार परिचालन भएका थिए । कामदारहरूले २ महिनाको फरकमा १ महिनाको पारिश्रमिक पाउँथे । दैनिक खर्च चलाउनदेखि खाना खानसम्म उनीहरूले स्थानीय व्यापारी र होटलबाट उदारो माग्नुपर्ने बाध्यता थियो ।
सीएमसीका प्रतिनिधि भागेपछि सोमवारदेखि नै सुन्दरीजलमा सुरुङतर्फको निर्माण कार्य ठप्प छ । सीएमसीले सुरुङभित्र सटकिटको काम सकेपनि छुटेको ठाउँमा रेक्टिफिकेसन (सुधार) गर्दै आएको थियो । यस्तै सुन्दरीजलमा सुरुङको मुखदेखि प्रशोधन केन्द्रसम्म डीआई पाइप राख्ने काम पनि अन्तिम चरणमा थियो । तर अहिले यी सबै काम ठप्प छन् ।




























