निर्मला हत्या प्रकरण : ९ हजार ‘कलडिटेल’ हेर्नेदेखि ‘पेचकस’ समूहको निगरानीसम्म
वि.सं.२०७५ पुस ६ शुक्रवार १४:३९
shares

काठमाडौं । निर्मला पन्त हत्याकाण्डको अनुसन्धान जारी छ । तर, हत्याराको पहिचान हुन सकेको छैन । प्रहरीले अनुसन्धानका लागि दुई युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । केन्द्रमा अपराध अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान व्युरोले घटनाको अनुसन्धान गरिरहेको छ ।
प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, सिआइबीका डिएसपी नेतृत्वमा ८ जनाको विशेष टोलीले पनि कञ्चनपुरमै रहेर अनुसन्धान गरिरहेको छ । सुरुवाती चरणमा तत्कालीन प्रहरी नेतृत्व र अनुसन्धान टोलीबाट अनुसन्धानमा भएको कमजोरीका कारण अनुसन्धानमा जटिलता थपिएको अनुसन्धान अधिकृतहरु बताउँछन् । झण्डै ५ महिना बित्न लाग्दा प्रहरीले अनुसन्धानको दायरा साँघुरो पारिँदै लगिएको बताउँदै आएको छ । तर, मुख्य अभियुक्तको पहिचान भने हुन सकेको छैन । पछिल्लो ५ महिनामा प्रहरीले अनुसन्धानका क्रममा के–के गर्यो त ?
९ हजार ‘कल’को अध्ययन, ६ सय ५० सँग बयान
प्रहरीले अनुसन्धानका क्रममा ९ हजारभन्दा बढी ‘कल डिटेल’ हेरेको पाइएको छ । स्रोतका अनुसार शंकास्पद ९ हजार बढी कलको ‘सिडिआर एनालाइसिस’ गरिएको हो । कल डिटेल हेरेर त्यसबाट केही व्यक्तिहरुलाई सोधपुछका लागि पनि बोलाइएको थियो । ‘‘अनुसन्धानका क्रममा घटनास्थल वरिपरिका बुझ्ने, जान्ने व्यक्ति तथा शंकास्पदहरुसँग सोधपुछ गर्ने र कागज गराउने काम भएको छ । यसबाहेक ५०० जनासँग सामान्य सोधपुछ मात्र गर्यौं भने १ सय ५० जनासँग कागज गरिएको छ । उनीहरु निगरानीमै छन्,’’ स्रोतले भन्यो ।
शंकास्पदको डीएनए परीक्षणसँगै निर्मला साउन १० गते गएको भनिएको साथी रोशनी बमकी दिदी बबिता बमको पोलिग्राफसमेत गरिएको छ । योबाहेक शंकास्पद फेसबुक, इमो तथा भाइबर एकाउन्टमाथि अनुसन्धान गरिएको छ ।
‘पेचकस’ समूह निगरानी
प्रहरीले अनुसन्धानका क्रममा सयौंलाई निगरानीमा राखेको भएपनि आपराधिक कार्यमा संलग्न रहँदै आएको स्थानीय गुण्डाहरुको समूह ‘पेचकस’लाई विशेष निगरानीमा राखेर अनुसन्धान अगाडि बढाएको छ । पेचकस समूहमा ४ जना छन् । प्रहरीका अनुसार ३ जना चन्द थरका र एकजना पाल थरका युवा ‘पेचकस’ समूहमा छन् । उनीहरुले निर्मलाको शव भेटिएको स्थान तथा खोला किनार क्षेत्रमा विभिन्न समयमा लागुऔषध सेवन गर्ने गरेको पाइएको छ ।
प्राप्त एक रिपोर्टमा भनिएको छ, ‘‘पेचकस समूहका बल्छी भनेर चिनिने अनिल चन्दले गत भदौ–असोज महिनामा निर्मलाको शव भेटिएकै स्थान नजिकै खुकुरी देखाएर एक १३–१४ वर्षीया किशोरीलाई कपडा खोल्न लगाएका थिए । चन्दले पूरै कपडा खोल्न कर गरेपछि किशोरी चिच्याएकी थिइन् र चन्द भागेका थिए ।’’ त्यतिबेला किशोरी नचिच्याएको भए अर्को अप्रिय घटना घट्नसक्ने प्रहरीको निष्कर्ष छ । स्थानीयका अनुसार ‘पेचकस’ समूह निर्मला प्रकरणमा जोडिएको भएपनि–नभएपनि गुण्डागर्दी र लागुऔषध दुर्व्यसनीमा संलग्न गिरोह भने हो ।
एक अपरिचित ‘ग्याङ’को खोजी
पक्राउ परेका दुई युवा प्रदीप रावल र विशाल चौधरीको बारेमा प्रहरीले पछिल्लो समय केही बताएको छैन । स्रोतका अनुसार रावल र चौधरीको डीएनए निर्मलाको ‘स्वाब’सँग मेल खाएको छैन । उनीहरुले बलात्कारपछि निर्मलाको हत्या गरेको बयान प्रहरीमा दिएका छन् । प्रदीप यसअघि पनि अनुुसन्धानका लागि पक्राउ परेर छाडिएका थिए भने विशालको नाम पछि जोडिएको हो । उनीहरुले अपराध स्वीकार गरेको र घटनास्थलबारे उनीहरुले दिएको बयान मिलेका कारण थप प्रमाण संकलनमा प्रहरी जुटेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । ‘‘डीएनए नै अन्तिम प्रमाण हुँदैन । अन्य कुराहरु पनि हुन्छन् । अनुसन्धान अझै जारी छ,’’ एक उच्च प्रहरी अधिकृतले भने ।
उनीहरुमाथि अनुसन्धान जारी रहेपनि प्रहरीले एक अपरिचित ‘ग्याङ’को खोजी गरिरहेको छ । स्रोतका अनुसार गत असार १० गते निर्मलाको साइकल भेटिएको स्थानमा एक अपरिचित युवाले स्थानीय एक महिलालाई आफ्नो गुप्ताङ्ग देखाउँदै दुर्व्यवहार गरेका थिए । झण्डै १ वर्षअघि पनि अर्का एक अपरिचित युवाले ‘पोर्न मुभी’को अश्लील आवाज निकालेर एक युवतीलाई आकर्षित गर्न खोजेका थिए । यस्तै ५–६ महिनाअघि पनि एक युवाले उखुबारी क्षेत्रमै एक महिलाको पिछा गरेका थिए । यो सबै गर्ने युवा एकै हुन् वा फरक–फरक भनेर प्रहरी पहिचानको खोजीमा छ ।




























