इमान्दारितापूर्वक काम नगरेको भन्दै सडक विभागलाई कारवाही गर्ने मन्त्रीको चेतावनी
वि.सं.२०७५ पुस १५ आइतवार १३:१२
shares

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक विभागको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। मन्त्री महासेठले इमान्दार ढंगले काम नगर्ने सडक विभाग, रोडस् बोर्डलगायतका संस्थामाथि कडा कार्वाही गर्ने चेतावनी दिए। उनले सडक विभागकै कारण काठमाडौंको रोडमा जनताको अपेक्षा अनुसार सुधार आउन नसकेको दाबी गरे।
स्रोत र साधनको दुरुपयोग नभएको भए काठमाडौंको सडक व्यवस्थित भइसकेको हुने मन्त्री महासेठको भनाइ छ। आइतबार काठमाडौंमा आयोजित रोडस् बोर्ड, नेपालको १६ औं वार्षिक साधारण सभामा बोल्दै उनले आगामी चैत्र महिना भित्र काठमाडौंको सडकलाई व्यवस्थित बनाउने गरी सडक विभाग, रोडस् बोर्ड, नेपाललगायतका संस्थाहरुलाई सरकारले गतिशील बनाइरहेको दाबी गरे।
मन्त्री महासेठले संवैधानिक व्यवस्था अनुकूल हुने गरी सडक ऐन संशोधनको कामलाई अघि बढाइएको बताए। उनले सडकको उचित व्यवस्थापन गर्न आवश्यक बजेटको व्यवस्था गरिदिन प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरिएको पनि जानकारी दिए।
मन्त्री महासेठले कानुन र संरचना निर्माणमा धेरै समय दिनु परेकाले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको स्पष्टिकरण दिए। उनले सडकको कामलाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहमा पनि रोडस् बोर्ड, नेपालको कार्यालय स्थापना गर्ने तयारी भइरहेको बताए।




























