निर्मला पन्तको घटना आश्चर्यजनक छ : प्रधानमन्त्री
वि.सं.२०७५ पुस १७ मंगलवार १६:१९
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको बलात्कारपछिको हत्याको घटना आश्चर्यजनक भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले बलात्कारपछिका हत्याका अरु घटनामा दोषी पत्ता लागे पनि यसमा कठिन भएको बताएका हुन् । प्रहरीले सुरुमा केही गल्तीहरु गरेको देखिन्छ । प्रहरीले त्यो गल्ती किन गर्यो भनेर प्रहरीकै एक पछि अर्को टिम, गुप्तचरहरुसमेत पठाएर अनुसन्धान भइरहेको छ ।
पछिल्लो समयमा एआईजीको तहबाट अनुसन्धान गरेका छौं’ प्रधानमन्त्री ओलीले भने, ‘तर अहिलेसम्म केही आश्चर्यजनक कुराहरु भएको छ । केही मानिसहरु अपराध आफूले यसरी गरेको हो भनेर बयान दिन्छन्, तर डीएनए मिल्दैन, अपराधीले स्वीकार्छ, कवुल गर्छ, डीएनए मिल्दैन । नेपाल प्रहरी आम रुपमा अपराध अनुसन्धानमा सक्षम भए पनि निर्मला पन्तको घटनामा भने अपराधी पत्ता नलाग्नु दुखद भएको उनको भनाइ छ ।
‘नेपाल प्रहरी आम रुपमा अपराध अनुसन्धान गर्न, अपराधी पत्ता लगाउन, कारबाही गर्न सक्षम छ । ९५ प्रतिशतभन्दा बढी अपराध पत्ता लागेका छन्’ प्रधानमन्त्रीले भने, ‘यस बीचमा भएका यसै प्रकारका घटनामा आम रुपमा पत्ता लागेका छन् । बलात्कारका घटना, बलात्कारपछिका घटनाहरु प्रहरीले पत्ता लगाएको छ । तर दुखलाग्दो कुरा आश्चर्यजनक कुरा निर्मला पन्तको यथार्थ अन्तिम रुपमा टुंगो लाग्न सकेको छैन । यो दुखद पक्ष हो ।
प्रधानमन्त्री ओलीले निर्मला पन्तको घटनामा प्रहरीले स्वतन्त्र ढंगले अनुसन्धान गर्न नपाएको पनि जिकिर गरे । ‘यस घटनाको छानबिन गर्ने संस्थाले स्वतन्त्र ढंगले गर्न पाएको अवस्था पनि छैन, त्यसभित्र कतिपय शक्तिहरुले आफ्नो स्वार्थ त्यहाँ मिसाएर त्यसलाई झण्डा बनाएर कुदेको पनि देखिन्छ । फलानोलाई समानुपर्यो, फलानोलाई किन समातिस्, किन यता लग्यो यता लगेन आदि, जसले गर्दा पनि अध्ययन नुसन्धानको काममा ब्यवधान भएको छ ।
प्रधानमन्त्री ओलीले ढिलो छिटो अपराधी पत्ता लाग्ने पनि दावी गरे । ‘यस घटनामा संलग्न अपराधीलाई हामी कुनै पनि हालतमा छाड्दैनौं । अलिकति ढिलो चाँडो होला तर पत्ता लगाएर कानूनको दायरामा ल्याउने र सजायको भागी बनाउन हामी सक्छौं भन्नेमा विश्वस्त छौं, सरकार यसमा लागिरहेको छ ।




























