घ्याङ गुठीको अर्बौंको जग्गा कसले खायो ?

7.84K
shares

काठमाडौँ । आसरकारी र गुठीका नाममा रहेका हजारौं रोपनी जग्गाहरू भूमिसुधार तथा ब्यवस्था मन्त्रालयदेखि गुठी संस्थानको मिलेमतोमा अतिक्रमण भएका छन् । पछिल्ला दिनमा अदालतबाटै सरकारी जग्गा अतिक्रमण गर्नेहरूको पक्षमा फैसला भएका छन् । यसैक्रममा विभिन्न गुठीका नाममा रहेका जग्गामा आफन्तलाई मोही कायम गरी अतिक्रमण गरिएका छन् । यसैक्रममा बौद्ध घ्याङगुठीको नाममा रहेका अरबौं मूल्यका बहुमूल्य जग्गाहरू चिनियाँ लामाले नै आफन्तलाई मोही कायम गरी बेचेर खाएको रहस्य उजागर भएको छ ।

बौद्ध घ्याङ गुठीका अर्बौ मूल्य पर्ने जग्गाहरूमा नक्कली मोही कायम गरी रैकर बनाएर बिक्री गरेको रहस्य बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजीत लामादेखि मेलम्ची घ्याङगुठीका कार्यवाहक अध्यक्ष पासाङतेम्बा लामाले नै खोल्न थालेका छन् । छैंटौं चिनियाँ लामा अन्तरे लामाको कार्यकालमा उनका सहोदर भाइ सूर्यबज्र लामाले बौद्ध घ्याङगुठीको नाममा रहेको कपन फैंकाको १९ रोपनी जग्गामा सिन्धुपाल्चोक हेलम्बु ६ का आफ्नै ससुरा उर्गेन स्याङ्वा लामालाई नक्कली मोही कायम गरे ।

सक्कली मोहीबाट बाली नबुझी उनीहरूको नाम कटाएर ससुरा उर्गेनको नाम राखी उक्त जग्गा रैकर बनाएर केही बर्षअघि प्रतिआना ३ लाख रुपैयाँमा बिक्री गरी खाएको आरोप मेलम्ची घ्याङगुठीका कार्यवाहक अध्यक्ष पासाङ तेम्बा लामाले समेत लगाएका छन् । त्यसैगरी सूर्यबज्र लामाको घर रहेको काठमाडौ महानगरपालिका वडा नं ६ बौद्धस्थित करीब ४ रोपनी जग्गा पनि बौद्ध घ्याङ गुठीकै सरकारी हो । तर उनले उक्त घरजग्गा आफ्नो नाममा रैकर बनाई हालसालै १ अर्ब १२ करोड रुपैयाँमा बिक्री गरेका छन् ।

सूर्यबज्रले उक्त जग्गा शाक्य सम्प्रदायका प्रमुख औतारी गुरु डोङ्सर खिन्जी रिम्पोछेलाई बिक्री गरेको खुल्नमा आएको छ । तर मालपोत कार्यालयमा कम मूल्यमा बिक्री गरेको देखाएर करोडौं पूँजीगत लाभकर पनि उनले छली गरेका छन् । उक्त घ्याङगुठीको जग्गामा धेरै बर्षअघि हरेक असार १५ मा धान रोपिन्थ्यो र त्यो धान फलेपछि पहिला बौद्ध स्तुपा (चैत्य) चढाउने प्रचलन थियो ।

यसरी गुठीको जग्गा आफ्नो नाममा रैकर बनाएर अहिले सूर्यबज्रले बिक्री गरेका छन् । यो कुरा केही समयअघि बौद्ध स्तुपामा भएको भेलामा तामाङ कल्याण गुठीकै सदस्यहरूले उठाएका थिए । र, सूर्यबज्रले जालसाजीपूर्ण ढंगले हडपेको कपन र बौद्ध लगायत विभिन्न स्थानको उक्त जग्गा पुनः बौद्ध घ्याङगुठीकै नाममा कायम हुनुपर्ने माग स्थानीयले गर्न थालेका छन् ।

काठमाडौंमा मात्र होइन, सूर्यबज्र लामाले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अन्तर्गत मेलम्ची घ्याङगुठीको २ सय रोपनी भन्दा बढी जग्गा पनि त्यहाँका मोहीहरूलाई जबर्जस्ती हटाई श्रीमती, छोराछोरी र आफन्तको नाममा मात्र होइन, काम गर्नेको नाममा मोही कायम गरी रैकर बनाएको रहस्य खुलेको छ । सूर्यबज्र लामाले काम गर्ने दिनेश लामाको नाममा समेत मोही कायम गरेको आरोप छ ।

सूर्यबज्र लामाले मेलम्ची घ्याङगुठीको २ सय रोपनी जग्गा आफन्त र कामदारलाई मोही कायम गरी जग्गा रैकर बनाएको आरोप मेलम्ची घ्याङगुठी ब्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष पासाङ तेम्बा लगाएका छन् । सडक पुगिसकेको उक्त जग्गा पनि दसौं करोड रुपैयाँ बराबर भइसकेको छ । सूर्यबज्रले आफन्तलाई मोही कायम गरी दसौं करोड मूल्यको जग्गा हडपेर रैकर गराइसके पनि तर गरिब स्थानीयको जग्गा अझै रैकर हुन सकेको छैन ।

सूर्यबज्रले सक्कली मोहीको नाम काटी हत्याएको जग्गाबाट मेलम्ची घ्याङमा निर्माण भएको मेलम्ची माध्यमिक विद्यालयलाई बाटो समेत दिएनन् । पासाङ तेम्बाकै पहलमा एक बर्षअघि जिल्ला प्रशासन कार्यालयले उनलाई बोलाएर बाटो दिन निर्देशन दिएपछि बल्ल स्कूललाई बाटो दिएका थिए । दाजु अन्तरे लामा चिनियाँ लामा भएको बेलादेखि नक्कली मोही कायम गरी सरकारी जग्गा अतिक्रमण गर्दैआएका सूर्यबज्र लामाको पेशा केही छैन ।

ब्यापार उद्योग र पुख्र्यौली सम्पत्ति केही नभए पनि उनी अर्बौं सम्पत्तिका मालिक कसरी भए र ? उनको यो सम्पत्ति कहाँबाट आयो ? त्यसको खोजी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गर्ला कि नगर्ला ? बौद्ध तामाङ कल्याण गुठीको भेलामा यो सवाल पनि उठेको थियो । बौद्ध घ्याङगुठीको अरबौं मूल्य पर्ने जग्गा हडपेका सूर्यबज्र लामाले आफूलाई समाजसेवी देखाउन तामाङ कल्याण गुठीलाई ३० लाख रुपैयाँमा एम्बुलेन्स किनेर दिएका छन् ।

यसरी सूर्यबज्र लामा र उनका काका गणेशबज्र र उनका छोरा हालका चिनियाँ लामा भूपतिबज्रले घ्याङगुठीको नाममा रहेका सबै जग्गा नक्कली मोही कायम गराई रैकर बनाएर बिक्री गरि खाइसकेका छन् । त्यसो त बौद्ध तामाङ गुठीको भेलामा कथित औतारी भूपतिबज्र लामा र उनका बाबु गणेशबज्र लामाका २ वटा नागरिकताका बारेमा पनि कुरा उठेको थियो । गणेशबज्रले सिन्धुपाल्चोक र काठमाडौंबाट २ वटा नागरिकता लिएको र उनका छोरा भूपतिबज्रले काठमाडौंबाटै २ वटा नागरिकता लिएकोबारेमा ब्यापक बिरोध भएको थियो । मेलम्ची घ्याङ गुठीका पासाङ तेम्बाले त भूपतिबज्रको रिम्पोछे उपाधि नक्कली भएको अन्तर्वार्ता नै दिएका छन् ।

र, उनीमाथि विदेशी र नेपालकै २ वटा नागरिकता लिएको आरोपमा कारबाहीको माग गरेका छन् । विवरण सच्याएर २ वटा नागरिकता लिने सर्वसाधारण नागरिक जेलमा जानुपर्छ । तर भूपतिबज्र लामालाई भने गुठी संस्थानले २ बर्षअघि चिनियाँ लामा नियुक्त गरेकोमा पनि बिरोध भएको छ । भूपतिबज्रसँग हङकङको समेत नागरिकता भएको र उनले पाउँदै नपाएको औतारी पद नागरिकता र पासपोर्टमा लेखेकोमा पनि छानबिन गर्न माग गरिएको छ । हङकङका नागरिक भूपतिबज्र लामालाई कुन आधारमा रातो पासपोर्ट दिइएको हो त्यसको समेत छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083