गालामा थप्पड हान्ने मन्त्रीहरुलाई कर्मचारी नेताको चेतावनी : ‘अरिंगालको गोलोमा नचलाऊ’

5.94K
shares

काठमाडौं । मन्त्रीले सचिव कुट्न थालेपछि निजामति कर्मचारी संघको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले निजामति सेवा भनेको अरिंगालको गोलो भएकोले त्यो गोलोलाई नचलाउन मन्त्रीहरुलाई चेतावनी दिएका छन् । ढकालले सोमबार कुरा गर्दै भने, ‘‘हामीले मन्त्रीको आदेश मान्ने होइन । हामीले संविधान र कानुनले भनेको कुरा मान्ने हो । आफ्नो स्वार्थ पूरा गर्नका लागि कर्मचारीले मानेन भनेर कसैले पनि मुक्का हान्न पाइँदैन । मुक्का हानियो भने त्यसको परिणाम खतरनाक हुन सक्छ ।’’

आइतबार प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आफ्नै कार्यकक्षमा बोलाएर उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफूले भनेको एनजीओलाई पैसा नदिएको भन्दै कुटपिट गरेको विवरण सार्वजनिक भएको थियो । ढकालले भने, ‘‘कर्मचारीले गल्ति गरेको अवस्थामा कानुनी कारवाही गर्ने अरु बाटाहरु छन् । अनियमितता गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही गर्न सक्छ । तर, मन्त्रीले भनेको नमान्दा कुट्न पाइँदैन । कुटेर समस्याको समाधान हुँदैन ।’’

देशलाई समृद्धिमा लान्छु भन्ने अनि निजामति कर्मचारीको महत्वपूर्ण अंग सचिवमाथि नै कुट्ने कुरा कुनैपनि हालतमा सह्य नहुने उनले बताए ।

के सबै कर्मचारी असल छन् ?

ढकालले भने, ‘‘म सबै कर्मचारी असल छन् भनेर भन्दिन । मुलुकमा जसरी सबै असल नै असल हुँदैनन् । त्यसैगरी कर्मचारीमा पनि खराब हुन सक्छन् । तर, खराब कर्मचारीलाई कारवाही गर्ने बाटो अरु नै छ । नीति नियम बमोजिम नै कारवाही गर्न सकिन्छ । त्यसरी मुक्का हान्न पाइँदैन ।’’

उनले संघीय वा प्रदेश तहको कुनै पनि कर्मचारीलाई राजनीतिज्ञले छुने काम नगरुन् भनेर चेतावनी समेत दिए । ढकालको प्रश्न थियो, ‘‘आफ्नै कर्मचारीलाई मन्त्रीले मारमुंग्री गर्यो रे भन्दा बाहिर पनि कस्तो सन्देश जान्छ ? मन्त्रीको कसरी इन्जत रहन्छ ? त्यतिपनि नजान्ने कस्ता मन्त्री हुन् ?’

रकमको विषयमा प्रदेश २ का मन्त्री र सचिवबीच आइतबार विवाद भएको जनाइएको छ । कुटाई खाने सचिवलाई मन्त्रीको निर्देशनमा प्रहरीले पक्राउ गरेर केहीबेरपछि छाडिदिएको थियो । आफ्नो एनजीओलाई सशर्त अनुदान अन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि छनोट नगरेको भन्दै कार्यकक्षमा बोलाएर मन्त्रीले कुटपिट गरेका हुन् ।

सचिव झाले मन्त्रीले भनेको एनजीओलाई रकम नदिएको भन्दै कार्यकक्षमा बोलाएर कुटपिट गरेको बताए । “यसअघि नै मन्त्रीज्यूले एउटा एनजीओ छनोट गर्नका लागि आग्रह गर्नुभएको थियो,” सचिव झाले कुराकानीमा भने, “छनोट हुनै नसक्ने एनजीओ कसरी छनोट गर्ने ?” उनले कार्यकक्षमा बोलाएर मन्त्रीले सीधै अब एनजीओसँग लिएको रकम तिर्न भनेको उनले बताए । “अब यो एनजीओको रकम तेरो बाउले तिरिदिन्छ,” मन्त्रीले आफूलाई गरेको गाली सम्झँदै सचिव झाले भने, “मेरो बुबाको नाम लिएपछि मलाई पनि रिस उठ्यो मैले जे भन्नुछ मलाई भन्नु मेरो बुबालाई कि भन्नुहुन्छ ? भन्न भ्याएको थिएँ एक्कासी गालामा थप्पड हानिहाले ।”

मन्त्री यादवले भने पत्रकारहरुसँग कुरा गर्दै सचिव आफ्नो मुखमुखै लागेको बताए । उनले आफूले झापड नहानेको दाबी गरेका छन् । प्रदेश सरकारले सो घटनाबारेमा छानबिन गर्न समिति बनाएको जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083