सभामुख महरा र चिनियाँ राजदूत बिच भेटवार्ता, चिनियाँ रेल चाँडै आउने अपेक्षा

4.58K
shares

काठमाडौं । सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित चीनका नवनियुक्त राजदूत हाउ याङछीले सोमबार शिष्टाचार भेट गरेकी छन् । सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर राजदूत याङछीले महरासँग शिष्टाचार भेट गरेकी हुन् ।

भेटमा चिनियाँ पिपुल्स कंग्रेसका सभामुखले अंग्रेजी नयाँ वर्षको अवसरमा पठाएको शुभकामना सन्देश राजदूत याङछीले सभामुखलाई हस्तान्तरण गरेको सभामुखको कार्यालयले जनाएको छ । सो अवसरमा सभामुख महराले नेपाल–चीन सम्बन्ध निकै प्रगाढ र घनिष्ट रहेको बताउँदै दुई देशबीच कूटनीतिक र राजनैतिक सम्बन्धका साथसाथै दुई देशका जनताबीच पनि घनिष्ट सम्बन्ध रहेको जनाएका थिए ।

नयाँ चिनियाँ राजदूतको रुपमा नेपाल आएकी याङ्छीलाई स्वागत गर्दै सभामुख महराले कार्यकाल सफल हुने र दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

चीनले नेपालको जलविद्युत, पर्यटन, सडकलगायतका थुप्रै क्षेत्रमा सहयोग गरिरहेको बताउँदै सभामुख महराले आगामी दिनहरुमा पनि चीनको सहयोग विस्तार हुनेमा विश्वास व्यक्त गरे । चीनले शुरु गरेको बेल्ट एण्ड रोड परियोजनाबाट नेपालले धेरै फाइदा लिन सक्ने भन्दै सभामुख महराले उक्त परियोजनामा नेपालका तर्फबाट आफू अर्थमन्त्री हुँदा सहमतिमा हस्ताक्षर गरेको स्मरण गराएका थिए ।

चीनको सहयोगले नेपाल–चीन रेल सेवा चाँडै सम्पन्न हुनेमा आफूहरु विश्वस्त रहेको बताउँदैै सभामुख महराले केरुङ–रसुवागढी–काठमाडौं रेलमार्ग चाँडै बन्ने आशा व्यक्त गरे । सभामुखसँगको भेटमा नेपालका लागि चीनका राजदूत याङछीले चीन र नेपालको सम्बन्ध अत्यन्त नजिकको रहेको बताउँदै आफ्नो कार्यकालमा चीन–नेपाल सम्बन्ध थप मजबुत र घनिष्ठ बनाउन एवं नेपालको विकास र समृद्धिका लागि आफू लागिपर्ने बताइन् ।

राजदूत याङ्छीले वेल्ट एण्ड रोड परियोजनामा नेपाल महत्वपूर्ण साझेदार मुलुक भएको भन्दै नेपालले पनि उक्त परियोजनाबाट महत्वपूर्ण उपलब्धि हासिल गर्ने सो अवसरमा बताएकी थिइन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083