न्याय माग्दै धर्नामा बसेका द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार प्रहरी नियन्त्रणमा

4.68K
shares

काठमाडौं। आफूहरुको माग सम्बोधन गर्न सरकारलाई दवाब दिन काठमाडौंको माइतीघर मण्डलामा अनिश्चितकालीन धर्नामा बसेका द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ। सोमबार बिहान धर्ना स्थलबाट र्यालीसहित सिंहदरबारको मूलगेटतर्फ जब्बरजस्ती अगाडि बढन खोजेपछि अनिश्चतकालीन धर्नामा बसेका द्वन्द्धपीडित सुरक्षाकर्मीका परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

६ दिनयता धर्नामा बस्दै आएका उनीहरुले सोमबार बिहान सरकारविरुद्ध चर्का नाराबाजी लगाउँदै निषेधित क्षेत्र सिंहदरबारको मूलगेटतर्फ अघि बढन खोजेका थिए। त्यसलाई रोक्ने क्रममा प्रदर्शनकारी उत्तेजित भएपछि प्रहरीले एक दर्जन बढीलाई नियन्त्रणमा लिएको हो। यसैबीच, न्याय माग्न आएका आफूहरुलाई न्याय दिनुको सट्टा सरकारले प्रहरी लगाएर हटाउने प्रयास गरेको भन्दै प्रर्दशनकारीले आपत्ति जनाएका छन्।

सुरक्षाकर्मीका सहिद परिवारलाई सरकारले न्याय दिनुको सट्टा लखेटने प्रयास गरेको भन्दै सो घटनाप्रति द्वन्द्व पीडित सुरक्षाकर्मी परिवार संस्थाकी सदस्य दुर्गाकुमारी विश्वकर्माले आपत्ति जनाइन्। द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले आफ्ना सन्तानलाई निःशुल्क पढाउने व्यवस्था गर्ने तथा परिवारका एक जना सदस्यलाई अनिवार्य सरकारी नोकरी दिनेसहितको विगतमा गरिएको सहमति कार्यान्वयनका लागि सरकारलाई दवाब दिन काठमाडौंमा अनिश्चितकालीन धर्ना दिनेक्रम जारी राखेका हुन्।

उनीहरुले आफूहरुको माग सम्बोधन नभएसम्म सरकारविरुद्ध धर्नासहितका विभिन्न कार्यक्रम जारी राख्ने चेतावनी दिँदै आएका छन्। गत बुधबारदेखि अनिश्चितकालीन धर्ना दिँदै आएका उनीहरुले आफूहरुको माग सम्बोधन गर्न गम्भिर नभएको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा पनि माग गर्दै गरेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083