राष्ट्रियसभा बैठक : कांग्रेसको चेतावनी, सत्ता परिवर्तन होइन, सरकार परिवर्तन भएको हो
वि.सं.२०७५ माघ २ बुधवार १४:५०
shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तनहुँको जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई केन्द्र सरकार भन्दा बाहिर राख्ने सरकारको निर्णयप्रति आपत्ति जनाउदै निर्णय सच्याउन माग गरेको छ। स्वास्थ्य मन्त्रालयले मुलुकभरका ११ वटा स्वास्थ्य संस्था केन्द्र सरकारको मातहतमा रहने पत्राचार गरिरहेका बेला सरकारले मन्त्रिपरिषद् बैठकमार्फत ९ वटा अस्पताल मात्रै केन्द्रले लिने र बाँकी दुईको जिम्मेवारीबाट पन्छने निर्णय गरेको भन्दै कांग्रेसले त्यसमा आपत्ति जनाएको हो।
ती दुई संस्थाको जिम्मेवारीबाट सरकार पन्छिन नमिल्ने जिकिर कांग्रेसले गरेको छ। राष्ट्रियसभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले दुई संस्थालाई मात्रै केन्द्र सरकार मातहत नरहने गरी सरकारले निर्णय गरेकोमा आपत्ति जनाएका हुन्। दुई संस्थाको जिम्मेवारीबाट पन्छिनु पर्नाको कारण स्पष्ट पार्न पनि उनले माग गरे ‘केवल गिरिजाप्रसाद र सुशील कोइरालाको नामसँग, नेपाली कांग्रेसको नेतासँग जोडिएको कारणले हो वा के कारणले आफ्नो जिम्मेवारीबाट अलग राख्न खोजिरहेको छ,’ उनले भने।
कांग्रेसले निर्णय पुर्नविचार गर्न माग गर्दे त्यसबारे अर्को बैठकमा जानकारी गराउन माग गरेको छ। दुई संस्थालाई केन्द्रको मातहत राख्ने र केन्द्रीय सरकारले नै संञ्चालन गर्ने व्यवस्था नभए संसद भित्र र बाहिर संघर्ष गर्ने चेतावनी पनि कांग्रेसले दिएको छ। संस्थासँग रहेको नाम मेटाउँदैमा नेताहरुले मुलुकका लागि पुर्याएको योगदानमा कमी नहुने भन्दै नेता पाण्डेले प्रतिपक्षी दलप्रति राजनीतिक असहिष्णुता देखाउने काम बन्द गर्न सरकारलाई चेतावनी दिए। उनले प्रतिपक्षी दलप्रति यस्तै व्यवहार गर्दै जाने हो भने मुलुक अराजकता र संघर्षको बाटोतर्फ जाने खतरा रहेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए।
उनले भने, ‘यदि सरकारलाई प्रतिपक्षको नामसँग पनि उसलाई एलर्जी हुने हो भने भोलिका दिनमा हामीले पनि त्यस्तै खालको व्यवहार सरकारलाई गर्नुपर्ने आवश्यकता पर्न जान्छ। उनले सधै एउटै पार्टीको नेतृत्वमा सरकार नरहने भन्दै सरकारलाई चेतावनी दिए। ‘सत्ता परिर्वतन होइन सरकार परिर्वतन भएको हो। आज नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार छ। भोलि अर्कै पाटीकोे नेतृत्वमा सरकार हुन्छ,’ उनले भने, ‘यदि हरेक पार्टीले अर्को पार्टीको नेतृत्वमा नेताहरुको नाममा रहेका संस्थाहरुलाई विघटन गर्दै जाने हो, भने के यत्रो योगदान गरेका कुनै पनि पार्टीका नेताहरुको नाममा रहेका संस्थाहरुको अब रहन्छ त ?
प्रतिपक्षीलाई हरेक ठाउमा हामी ठेगान लगाउछौ भन्दै सरकारले निषेधको राजनीति गरेको टिप्पणी उनले गरे। उनले भने, ‘आज नेपाली कांग्रेसको नेताहरुको नाममा खुलेका संस्थाहरु कम्युनिष्ट पार्टीको सरकारले विघटनको अवस्थामा पुर्याउने हो भने, भोलि कांग्रेसको सरकार आउदा कम्युनिष्टका नेताहरुका नाममा खुलेका संस्थाहरुलाई त्यही व्यवहार गरियो भने के नेताहरुप्रति न्याय हुन्छ ? ’
प्रतिपक्षी दल प्रति बदलाको भावना लिएर अघि बढेको सरकारले कांग्रेसलाई धम्क्याउने तर्साउने काम गरेको दाबी गरे। उनले भने, ‘धेरैले कांग्रेसलाई तर्साउन खोजेका थिए। पञ्चायतले तर्साउन खोजेका थिए। माओवादीको बन्दुकले पनि तर्साउन खोजेका थिए। तर तर्सिएन। त्यसैले यस्ता घटनाले तर्साउन खोजेर कांग्रेस तर्सिँदैन। र कांग्रेसका नेताहरुको इतिहासका नेताहरुलाई साना तिना घटनाले नाम मेट्न खोज्दैमा मेटिँदैन।





























