समायोजनमा जान कर्मचारी उत्साहित
वि.सं.२०७५ माघ ३ बिहीवार १०:५७
shares

काठमाडौंँ । सरकारले अध्यादेशबाट सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन कार्य अगाडि बढाएपछि उच्च सङ्ख्यामा कर्मचारीहरु समायोजनमा सहभागी भएका छन् । बुधवारसम्म करिब ७९ हजार कर्मचारीले समायोजनमा जान अनलाइन फारम भरेपछि अधिकारीहरूले यो सङ्ख्यालाई उत्साहजनक भनेका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘‘समायोजनमा जाने कर्मचारीको सङ्ख्या उत्साहजनक हो । सरकारले तीनै तहमा कर्मचारी समायोजनका लागि प्रदान गरेको तीन हप्ताको समय बुधवार सकिएको हो ।
मन्त्रालयका अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा गरी ८९ हजार दरबन्दीमा करिब ७९ हजार कर्मचारीले अनलाइन मार्फत समायोजनका लागि आवेदन दिएका छन । सुरूमा कर्मचारीले समायोजनमा जान अनिच्छा देखाए पनि सरकार र आधिकारिक टे«ड युनियनबीच नौ बुँदे सहमति भएपछि समायोजनमा जान आवेदन दिने कर्मचारीको सङ्ख्या ह्वात्तै बढेको हो ।
मन्त्रालयको समायोजन शाखाका उपसचिव अनिता निरौलाका अनुसार ८९ हजार दरबन्दीमध्ये सेवा अवकाश हुन एक वर्ष बाँकी रहेका कर्मचारीले समायोजनका लागि फारम भर्न नपर्ने व्यवस्था भए पनि जानकारीको अभावमा ती कर्मचारीले पनि समायोजनमा जान आवेदन दिएको हुनसक्ने बताए






























