‘नेपाल र थाइल्यान्डबीच बिप्पा सम्झौताको पहल गर्नेछु’ : प्रस्तावित राजदूत ढकाल

5.29K
shares

काठमाडौं । थाइल्यान्डका राजदूतमा प्रस्तावित गणेशप्रसाद ढकालले नेपालमा लगानी ल्याउन थाइल्यान्डसँग द्विपक्षीय लगानी प्रबर्द्धन तथा संरक्षण सम्झौता (बिप्पा) को पहल गर्ने बताएका छन्। संसदीय सुनुवाइ समितिमा बिहीबार सुनुवाइका क्रममा आफ्नो अवधारणा प्रस्तुत गर्दै ढकालले आफू राजदूत भएर गए थाइल्यान्डका लगानीकर्तालाई नेपालमा लगानी गर्न उत्प्रेरित गर्न नेपाल सरकार र थाइल्यान्ड सरकारबीच बिप्पा सम्झौताको पहल गर्ने बताए।

‘नेपालमा थाइल्यान्डबाट लगानी भित्र्याउन दुवै सरकारबीच बिप्पा सम्झौताको पहल गर्नेछुु’, थाइल्यान्डको आवासीय र कम्बोडिया, भियतनाम, सिंगापुर र लाओसका लागि गैरआवासीय राजदूतका लागि सिफारिस गरिएका ढकालले भने, ‘आफ्नो जिम्मेवारी रहेका मुलुकबाट नेपाल लगानी ल्याउन र पर्यटन प्रबर्द्धन गर्न पहल गर्नेछु।’ ढकालले समितिसमक्ष नेपाल सरकारले विकास र समृद्धिका लागि लिएका नीतिमा सहयोग पुर्‍याउन तथा परराष्ट्र नीति कार्यान्वयन गर्न कर्तव्यनिष्ठ भएर लाग्ने बताए। सुनुवाइका क्रममा समिति सदस्य सुरेन्द्र पाण्डेले राजदूतहरू कूटनैतिक सम्बन्ध भन्दा पनि आर्थिक कुटनीतिमा पनि पोख्त हुनुपर्ने धारण राखे।

उनले देशमा लगानी कसरी ल्याउने भन्नेबारे कानुनी र कुन क्षेत्रमा ल्याउने भन्ने स्पष्ट रूपमा जानकार भएर जान सुझाव दिए। राजदूतहरूले सम्बन्धित देशसँग सन्धि सम्झौता गर्दा राष्ट्रहीतलाई केन्द्रमा राख्नुपर्ने धारणा राखेका थिए। समितिका अर्का सदस्य जितेन्द्रनारायण देवले राजदूतहरूले जागिर खान मात्रै नगइ देश हितमा पनि काम गर्नुपर्ने बताए। समिति सदस्य पार्वत गुरूङले राजदूतले व्यक्तिगत र नातेदार तथा आफन्तको हितमात्रै नहेरी मुलुकको प्रतिनिधि रहेको हेक्का राख्नुपर्ने धारणा राखे।

प्रस्तावित राजदूत ढकालले आफूले समितिसमक्ष प्रस्तुत गरेको कार्ययोजना र अवधारणा राजदूत भएर गएपछि लागू गर्ने प्रतिवद्धता व्यक्त गरे। समितिले थाइल्यान्डको राजदूतमा ढकालको नाम पारित गर्ने संकेत गरेको छ। आजै समितिबाट ढकालको नाम पारिस हुने सम्भावना छ। त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गरेपछि उनी कार्यक्षेत्रमा जानेछन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083