प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीलाई एक घण्टा, सांसदले प्रश्न सोध्ने

4.75K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सांसदहरुसँग सवाल जवाफ गर्ने भएका छन् । शुक्रवार मध्यान्ह १२ बजेपछि बस्ने बैठकमा सांसदहरुले सोधका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने भएका हुन् । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको नियमावली २०७५ को नियम ५६ बमोजिम आज प्रश्नोत्तर शत्र सञ्चालन गर्ने कार्यसूची तय भएको जनाएको छ ।

नियम ५६ मा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रभित्र रहेका मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रत्यक्ष रुपमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो र तेस्रो हप्तामा बस्ने पहिलो बैठकको पहिलो एक घण्टा निर्धारण गर्न सक्ने उल्लेख छ । नियमावलीमा सो व्यवस्था भएपनि अभ्यास भने आज हुने प्रश्नोत्तरी नै पहिलो हो । संघीय

संसदको अधिवेशन शुरु भएको करिब एक वर्ष पुग्न लागेपछि प्रधानमन्त्री र सांसदबीचको प्रश्नोत्तर शत्र शुरु हुन लागेको सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिए । यस्तै बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न विदेश भ्रमणबारे जानकारी गराउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली माघ ६ गते (आइतबार) स्वीटजरल्याण्ड भ्रमणमा जादै छन् । यसैबीच आजै प्रतिनिधिसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ । बैठकमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विधेयक र पारमाणविक विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको सचिवालयका सहप्रवक्ता अर्यालले बताए ।

त्यस्तै आजको बैठकमा यी दुई वटा विधयेकसँगै नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र जीवनाशक विषादी व्यवस्थापन विधेयक दफावार छलफल गर्न समितिमा पठाउने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083