राजदूत लक्की शेर्पालाई परराष्ट्रले फिर्ता बोलायो
वि.सं.२०७५ माघ ४ शुक्रवार १२:५५
shares

काठमाडौं । अस्ट्रेलियाकी राजदूत लक्की शेर्पालाई परराष्ट्र मन्त्रालयले फिर्ता बोलाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।मानव तस्करी आरोपमा मन्त्रालयले छानबिन थालेसँगै नेपाल आएकी उनी जागिर जाने पक्का भएपछि सरसामान लिन मंगलबार पतिसँगै अस्ट्रेलिया गएकी छन् । राजदूतकै हैसियतमा अस्ट्रेलिया गए पनि शेर्पाले दूतावासमा काम नगर्ने र सामान लिएर फर्केपछि राजीनामा दिने परराष्ट्रका अधिकारीहरूले बताएका छन् ।
‘उहाँ दूतावास गई काम गर्नुभएको छैन, क्यानबेरास्थित निवासमै बसेर फर्कने तयारीमा लाग्नुभएको छ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘केही दिनमा आउनु हुनेछ र राजीनामा दिनु हुनेछ । ती अधिकारीका अनुसार बर्खास्त भएर बेइज्जती खेप्नुभन्दा राजीनामा दिन मन्त्रालयले सुझाएपछि उनी सामान लिन क्यानबेरा गएकी हुन् ।
‘राजीनामा गरेर जाँदा कूटनीतिक उन्मुक्ति नपाइने भएकाले सामान ल्याउन र आउन–जान झन्झट हुन्थ्यो,’ ती अधिकारीले भने, ‘त्यो टार्न मन्त्री र सचिवसँग सल्लाह गरेरै उहाँ जानुभएको हो । उनी गत डिसेम्बर ८ मा नेपाल फर्किएदेखि त्यहाँको कार्यभार अधिकृत दुरपदा सापकोटाले सम्हालिरहेकी छन् ।






























